अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एउटा रुसको कम जनसङ्ख्या भएको सुदूरपूर्वमा बुधबार (३० जुलाई) बिहान गएको छ । भूकम्पका कारण प्रशान्त महासागरमा चार मिटर (१२ फिट) सम्म सुनामी आएको थियो र हवाईदेखि जापानसम्मका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।
अमेरिकी भौगर्भिक सर्वेक्षण (युएसजिएस)का अनुसार रुसको दुर्गम कामचटका प्रायद्वीपमा पेट्रोपाभ्लोभस्कबाट बिहान ८ः२४ बजे (२३०४ जिएमटी मङ्गलबार) ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो र यो रेकर्ड गरिएको १० मध्ये सबैभन्दा ठूलो थियो ।
रूसी अधिकारीहरूले सेभेरो-कुरिल्स्क बन्दरगाह सहरमा सुनामीले बाढी ल्याएको बताएका छन् भने स्थानीय मिडियाले कामचटकाको एलिजोभ्स्की जिल्लामा तीनदेखि चार मिटर अग्लो सुनामी रेकर्ड गरिएको बताएको छ ।
रुसी सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा सहरका भवनहरू समुद्री पानीमा डुबेको देखाइएको छ । अधिकारीहरूले लगभग दुई हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको बतएका छन् ।
भूकम्पबाट रुसमा धेरै मानिस घाइते भएका तर तिनीहरूमध्ये कसैको पनि गम्भीर अवस्था नभएको राज्य मिडियाले रिपोर्ट गरेको छ । संयुक्त राज्य अमेरिका, मेक्सिको र इक्वेडर लगायत उत्तर र दक्षिण अमेरिकाका प्रशान्त तटवर्ती देशहरूका अधिकारीहरूले प्रभावित समुद्री किनारहरूबाट टाढा रहन चेतावनी दिएका छन् ।
जापानमा मानिसहरूलाई कार वा पैदल उच्च भूमिमा निकालिएको छ । होक्काइडोमा ३० सेन्टिमिटर मापन गरिएको पहिलो लहर अवलोकन गरिएको थियो । दिउँसो (०३०० जिएमटी) सम्म जापानमा कुनै घाइते वा क्षति भएको रिपोर्ट गरिएको छैन ।
‘मानिसहरूले समुद्री किनारमा बस्नु हुँदैन, र म फेरि एक पटक भन्छु, हुँदैन, जस्तो हामीले विगतमा देखेका छौँ, सुनामी कस्तो देखिन्छ भनेर हेर्नका लागि आफ्नो जीवन जोखिममा पार्नुहुँदैन’, गभर्नर जोश ग्रिनले भनेका छन्- ‘यो सामान्य छाल होइन । यदि तपाईं सुनामीको चपेटामा पर्नुभयो भने यसले वास्तवमा तपाईंलाई मार्नेछ ।’
प्रतिक्रिया