राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण

राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण


बाँकेको राप्तीसोनारी गाउँपालिका-७ खल्ला झगडियास्थित राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण गरिएको छ । जिल्लामा राप्ती नदीको बाढीबाट बस्ती जोगाउन ‘बेम्बोपाइलिङ र आरसिसी प्रकुपाइन’ प्रविधिबाट आपत्कालीन तटबन्ध निर्माण गरिएको हो । तटबन्ध निर्माण भएपछि स्थानीयबासी खुशी देखिएका छन् ।

‘तटबन्ध निर्माण भएसँगै बाढीको जोखिम घटेको छ, अब ढुक्कसँग बस्न पाउनेमा विश्वास लागेको छ’, राप्तीसोनारी-७ का वडाध्यक्ष रामलखन थारुले भनेका छन् । उनले जनताको तटबन्ध कार्यालयअन्तर्गत लिइएको पहल र तत्परताको प्रशंसा गर्दै यस वर्ष वर्षामा बस्ती जोगिने धारणा राखे ।

वर्षा सकिएपछि स्थायी तटबन्धको प्रावधान रहेको उल्लेख गर्दै वडाध्यक्ष थारुले तटबन्धपछि स्थानीय निकै खुसी भएका बताए । तीन वर्षअघि आधा भत्किएको तटबन्ध ठूलो बाढी आउनेबित्तिकै पूरै भत्केर आधा दर्जन गाउँ डुब्ने खतरा थियो । विसं २०७१ को बाढीपछि राप्ती नदीले धार परिवर्तन गरेपछि खल्ला झगडियालगायत दर्जनौँ गाउँ डुबानको जोखिममा पर्दै आएका थिए ।

यस वर्ष जनताको तटबन्ध कार्यालयले जेठ अन्तिमदेखि आपत्कालीन तटबन्ध निर्माण गरेपछि स्थानीयवासी बाढीको त्रासबाट मुक्त भएका छन् । रु ६ करोड ५० लाख लागतमा पक्की तटबन्ध निर्माण गर्ने ठेक्का अनुसार बस्तीलाई डुबानबाट जोगाउन पहल थालिएको जनातको तटबन्ध कार्यालय लमही (दाङ)ले जनाएको छ ।

कार्यालय प्रमुख डा. नारायणप्रसाद सुवेदीले खल्ला झगडिया र जरैयामा आपत्कालीन तटबन्ध बनाएर यस वर्ष डुबानबाट हुनसक्ने जोखिम न्युनीकरणको पहल थालिएको उल्लेख गर्दै वर्षापछि स्थायी तटबन्ध निर्माण प्रक्रिया सुरु हुने जानकारी दिए । उनले यस्तो प्रविधि पूर्वी नेपाल र पश्चिम राप्ती नदीमा पनि प्रयोग गरिएको भन्दै यो प्रविधिमा खर्च पनि कटौती हुने बताए ।

‘हामीले ‘बेम्बोपाइलिङ र कङ्क्रिट प्रकुपाइन’लाई एकीकृत रूपमा प्रयोग गरेका छौँ’, डा. सुवेदीले भने । अनुसन्धानका लागि पनि तटबन्ध निर्माणका क्रममा नयाँ अभ्यास भएको जानकारी दिँदै उहाँले आफूहरूसँग सिकेर भारतले समेत यस्तो प्रविधिबाट तटबन्ध बनाएको उल्लेख गरे। उनका अनुसार आपत्कालीन तटबन्धमा बाँस, बालुवा भरिएका प्लास्टिकका बोरा, जाली र सिमेन्टको पोल प्रयोग गरिएको छ ।

स्थानीयवासी दुर्गा पाण्डेले आपत्कालीन तटबन्ध बनेकाले वर्षामा गाउँ डुबानमा नपर्ने विश्वास बढेको बताए । खल्ला झगडियामा निर्माण भएको तटबन्धका कारण देउपुरा, पिप्रहवा, नरैनापुर गाउँपालिका-६ को सोनवर्षा, कुदरवेटवा, गङ्गापुर, भगवानपुर र वडा नम्बर ५ को नवाजीगाउँ, भोजपुर तथा डुडुवा गाउँपालिका-१ को कुडवागाउँ लाभान्वित हुनेछन् ।

photo: rss