नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाइएको छ । सो पार्टीको संस्थापक केन्द्रीय सदस्यको राष्ट्रिय भेलाले श्रेष्ठलाई हटाउने प्रस्ताव पारित गरेका हो ।
नाउपाको अनुशासन समितिका संयोजक रामलाल डंगौरा थारूले जानकारी दिएअनुसार अनुशासन समितिका बहुमत सदस्यहरू सहभागी भएको भेलाले रञ्जिता श्रेष्ठलाई पार्टीबाट निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।
अध्यक्ष श्रेष्ठसँग समितिले स्पष्टीकरण सोधेको तर स्पष्टीकरणको कुनै जवाफ नआएको र समितिको बैठकमा सहभागिता पनि नजनाइएको जानकारी दिँदै संयोजक थारुले त्यसपछि अनुशासन आयोगको प्रस्तावमा उनलाई अध्यक्षबाट हटाउने निर्णय भेलाले अनुमोदन गरेको बताए ।
रञ्जिताका श्रीमानसमेत रहेका नाउपाका संरक्षक रेशम चौधरीले पनि अध्यक्ष रञ्जिता श्रेष्ठले विधानविपरीत आफूखुशी कार्यवाहक अध्यक्ष तोकेर गल्तीमाथि गल्ती गरेको आरोप लगाएका छन् । अध्यक्षले पार्टीको केन्द्रीय समिति बोलाएर प्रष्टीकरण दिनुपर्नेमा उल्टै कार्यवाहक अध्यक्ष तोक्नुले धेरै कार्यकर्ताको चित्त दुखेको चौधरीको भनाइ छ ।
ज्ञातव्य छ, बिचौलियासँग अडियो प्रकरणमा मुछिएपछि रञ्जिताले स्वास्थ्यको कारण देखाउँदै पोखरानिवासी शिव बास्तोलालाई कार्यवाहकको जिम्मेवारी सुम्पिएकी थिइन् । त्यसलगत्तै रेशम पक्षधरको बुहमत संस्थापक केन्द्रीय सदस्यको बैठकले अध्यक्ष श्रेष्ठप्रति खेद प्रकट गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
पार्टीको अर्को अध्यक्ष बनाउने विषयमा नाउपाले आज (१५ साउन) छलफल गर्ने रामलाल थारुले जानकारी दिएका छन् ।
प्रतिक्रिया