अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भारतमाथि २५ प्रतिशत आयशुल्क घोषणा

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भारतमाथि २५ प्रतिशत आयशुल्क घोषणा


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट अमेरिका आयात हुने वस्तुहरूमा २५ प्रतिशत आयशुल्क (ट्यारीफ) लगाइने बताएका छन् । साथै, भारतले रुसबाट ठूलो परिमाणमा हतियार र ऊर्जा खरिद गरिरहेकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै यसबारे थप कदम चालिने संकेत पनि उनले दिएका छन् ।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत आफ्नो सन्देश सार्वजनिक गर्दै ट्रम्पले भनेका छन्, ‘भारत हाम्रो मित्र हो, तर उसले विश्वमै उच्चतम आयशुल्क तथा जटिल व्यापारिक नियमहरू अपनाएको छ, जसका कारण व्यापारिक सम्बन्ध अपेक्षाकृत सशक्त बन्न सकेको छैन ।’

उनले अमेरिका-भारतबीचको व्यापार घाटालाई ‘ठूलो’ भन्दै त्यसमा सुधार गर्न यो निर्णय आवश्यक रहेको जनाएका छन् । राष्ट्रपति ट्रम्पले रुससँग भारतको निकटता र सैन्य तथा ऊर्जा खरीदलाई युक्रेन युद्ध सन्दर्भमा गम्भीर रूपमा लिएका छन्।

यद्यपि, राष्ट्रपति ट्रम्पले भारतमाथि लाग्ने भनिएको अतिरिक्त ‘कारबाही’को स्पष्ट विवरण दिन बाँकी छ । विश्लेषकहरूका अनुसार, यो निर्णय रुसमाथि दबाब सिर्जना गर्न तथा व्यापार सन्तुलन मिलाउन गरिएको हो ।

ज्ञातव्य छ, हाल भारतबाट अमेरिका पठाइने अधिकांश वस्तुहरूमा करिब १० प्रतिशत आयशुल्क लागिरहेको छ, जुन अब बढेर २५ प्रतिशत पुग्ने तयारी गरिएको छ । साथै, राष्ट्रपति ट्रम्पले अन्य देशहरूसँग पनि व्यापार सन्तुलन कायम गर्न नयाँ ट्यारीफ लगाउने चेतावनी दिइरहेका छन् । ब्राजिलमाथि उनले ५० प्रतिशतसम्म आयशुल्क लगाउने सम्भावना व्यक्त गरेका छन् ।