- रेजिना गौतम, झापा
लागूऔषध विरुद्ध आक्रामक बनेको प्रहरीले साउन ९ गते झापाको कचनकवल-४ बाट १ महिलासहित ३ जनालाई नियन्त्रणमा लियो । कचनकवल-४ लोधावारीमा लागूऔषध (ब्राउन सुगर) सहित पक्राउ परेकी युवती भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी भारतको विहार राज्यअन्तर्गत किसनगंजकी २९ वर्षीय तबसुम आरा पक्राउ परेकी हुन् ।
त्यसैगरी, साउन ६ गते भद्रपुर १० स्थित डाँफेचोक नजिकैबाट प्रहरीले एक महिलासहित लागूऔषध (ब्राउन सुगर)सहित नुवाकोट तादी गाउँपालिका–६ की २६ बर्षीय शशी खत्रीलाई प्रहरीले नियन्त्रणमा लियो । पक्राउ परेका यी दुवैलाई जिल्ला प्रहरी कार्यालय झापा लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले नियन्त्रणमा लिएको हो ।
भद्रपुरबाट ब्राउन सुगरसहित पक्राउ परेकी खत्रीसँगै सोही ठाउँबाट अरु दुईजना पुरुष पनि पक्राउ परेका थिए । गोप्य सूचनाका आधारमा पैदल हिँडिरहेका उनीहरुको साथबाट कालो प्लाष्टिकको झोलामा बोकेको अवस्थामा ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको थियो ।
लागू औषध, दुर्व्यसन बेचविखन तथा ओसारपसारमा महिला संलग्नताको यो प्रतिकात्मक उदाहरण मात्र हुन् । संगसंगै झापामा लागू औषध कारोबार संलग्नता बढ्नुमा नेपाली नागरिकसँगै भारती नागरिक पनि सक्रिय छन् भन्ने स्पष्ट हुन्छ । संगसंगै लागू औषध बेचबिखन तथा ओसार पसारको जालो पूर्वदेखि पश्चिमसम्म नै फैलिएको छ भन्ने उदाहरण पनि हो नुवाकोट तादी गाउपालिकाकी महिला लागू औषधसहित झापामा पक्राउ पर्नु ।
एकवर्षमा कोशी प्रदेशमा एकसय १५ जना महिलाको संलग्नता पुष्टि भएको छ । लागू औषध बेचबिखन तथा ओसारपसारविरुद्ध आक्रामक बनेर मातहतका जिल्लामा अभियान नै चलाएको कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार कोशी प्रदेशमा गत आर्थिक वर्ष २०८१∕०८२ को एकवर्षमा १८ वर्ष मुनिका ६ जना किशोरी पक्राउ परेका छन् भने १९ देखि २५ वर्ष उमेर समूह अर्थात युवा उमेरका ५३ जना रहेका छन् ।
त्यसैगरी २६ देखि ३५ वर्ष उमेर समूहका ३० जना, ३६ देखि ४५ वर्षका १६ जना तथा ४६ देखि ६० वर्षका १० जना महिला गरी एकवर्षमा ११५ जना महिला लागू औषध बेचविखन तथा ओसार प्रसारमा संलग्न रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
प्राप्त तथ्याङ्कलाई उमेर समुहमा विभाजन गरेर हेर्दा सबैभन्दा बढी युवा उमेर (१९ देखि २५ वर्ष) का महिलाहरुको संलग्नता देखिन्छ ।
लागू औषध बेचविखन तथा ओसार-पसार मुद्दामा यो अवधीमा दुईहजार एकसय ६२ जना पुरुषसहित ११५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले एकहजार चारसय ३८ वटा मुद्दा दर्ता गरेको जनाएको छ । बितेका तीन वर्षको प्रदेशस्तरिय तथ्याङ्कलाई नियाल्दा लागू औषध (लापसे) मा महिलाको संलग्नता क्रमिक रुपमा बढेको देखिन्छ ।
आव २०८०/८१ मा १८ वर्ष मुनिका ६ जना, १९ देखि २५ वर्षका ४७ जना, २६ देखि ३५ वर्षका २४ जना, ३६ देखि ४५ वर्ष उमेरका १५ र ४६ देखि ६० वर्ष उमेरका ७ सहित ९४ जना महिला संलग्न रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । ९४ जना महिलासहित एकहजार चारसय ९२ जनालाई नियन्त्रणमा लिइएकोमा एकहजार ३९ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालय कोशीले जनाएको छ ।

त्यसैगरी आव २०७९/०८० मा उही उमेर समूहका क्रमश: २६, २४, १४ र ६ जना गरी कुल ७० जना महिलाको संलग्नता पुष्टि रहेको थियो । यो आवमा ७० जना महिलालाई लागू औषध बेचबिखन तथा ओसारपसार संलग्नतामा यो अवधीमा ७० जना महिलासहित एकहजार ८७ लाई नियन्त्रणमा लिएको प्रहरीले सो वर्ष सातसय ८९ वटा मुद्दा दर्ता गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
लागू औषध बेचविखन तथा ओसार पसारमा समग्र कोशी प्रदेशको तथ्याङ्कलाई हेर्दा संलग्नको संख्या दिनानु दिन बढ्दो मात्रामा पाइएको छ । महिला पुरुष दुवैको संलग्नता निरन्तर बरिहेको तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष २१ महिला बढी संलग्न भएको देखिन्छ भने त्यसअघिको वर्ष २०७९∕०८० को तुलनामा ०८०∕०८१ मा २४ जना महिलाको बढी संलग्नता पाइएको तथ्याङ्कीय विवरणले देखाउँछ ।
झापामा महिला संलग्नता घट्दै
लागूऔषध बेचविखन तथा ओसार पसारका दृष्टिले ट्रान्जिट पोइन्टका रुपमा रहेको झापामा भने विगत तीन वर्षको तथ्याङ्कलाई नियाल्दा महिलाको संलग्नता न्यूूनमात्रामा कमी आएको देखिन्छ । लागूऔषध बेचविखन, ओसारपसार तथा प्रयोगकर्ता विरुद्ध प्रहरी निगरानी र नियन्त्रण बढेसंगै पक्राउ गर्नेको संख्या र बरामद लागू औषधको मात्रा बढे पनि महिला संलग्नतामा भने केही कमी देखिएको हो । समग्र कोशी प्रदेशमा लागू औषध बेचविखन तथा ओसार पसार कारोबारमा संलग्नता बढेको देखिएपनि झापामा भने विगतको तुलनामा महिला संलग्नता केही कम देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार गत वर्षमा लागू औषध बेचबिखन तथा ओसार पसारमा २८ जना महिला पक्राउ परेका छन् । अघिल्लो वर्ष अर्थात आव २०८०∕०८१ को तुलनामा गत आवमा ४ जनाले कमी आएको हो ।
अघिल्लो वर्ष ३२ जना महिला उक्त मामिलामा संलग्नता पुष्टि भएसंगै प्रहरीले नियन्त्रणमा लिएको थियो भने आव २०७९∕०८० मा ३५ जना महिलाहरु प्रमाणसहित प्रहरी नियन्त्रणमा परेका थिए ।
प्रहरी तथ्याङ्क अनुसार महिला संलग्नताको उमेर समूह विभाजन गरेर हेर्दा सबैभन्दा बढी १९ देखि २५ वर्ष उमेरका युवा महिलाहरुको संलग्नता पाइएको छ । गत आवमा यो उमेर समूका १३ जना युवा उमेरका महिलाहरुको संलग्नता देखिएको हो ।
गत वर्ष १९ वर्ष भन्दा कम उमेरका एक व्यक्तिको संलग्न रहेको देखिएको छ भने २६ देखि ३५ वर्ष उमेर समूहका ७ जना ३६ देखि ४५ वर्षसम्मका ४ जना र ४६ देखि ६० वर्ष उमेर समूहका ३ जनाको संलग्नता देखिएको छ ।
यसअघि आव २०८०/०८१ मा युवा उमेरका १७ जना युवतीहरु लागू औषध बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी २६ देखि ३५ वर्षका ११ जना र ३६ देखि ४५ वर्ष उमेर समूहका ४ जना महिला प्रहरी नियन्त्रणमा परेका थिए ।
त्यसैगरी आव २०७९/०८० मा सबै भन्दा बढी १९ देखि २५ वर्षसम्मका २१ जना युवतीहरु पक्राउ परेका थिए भने २६देखि ३५ वर्षका १० जना तथा ३६ देखि ४५ वर्ष उमेरका ३ जना महिला लागू औषध बेचविखन तथा ओसार पसारमा संलग्नतामा पक्राउ परेका थिए ।
लागू औषध बेचबिखन तथा ओसार पसारमा विरुद्ध प्रहरी प्रशासन आक्रमक रुपमा प्रस्तुत हुनु, नियन्त्रणमा लिएकालाई कारवाहीको प्रक्रियामा लैजानु तथा प्रहरीसहित विभिन्न संघसंस्थाले सञ्चालन गरेका सचेतनामुलक कार्यक्रमको प्रभाव हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापा प्रवक्ता खगेन्द्र कार्कीले बताउनु भयो । उहाँले भन्नेुभयो, ‘महिलालाई मात्रै लक्षित गरेर छुट्टै अनुसन्धान नहुने भएकोले यसै भन्न सक्ने अवस्था त छैन, तर, लागू औषध बेचबिखन तथा ओसापसार विरुद्ध प्रहरीले सर्तकता र सक्रियता बढाएसंगै लागू औषध पनि उल्लेख्य मात्रामा नियन्त्रणमा लिन सफल भएको छ, उहाँले थप्नुभयो, ‘पक्राउ पर्ने क्रम पनि बढेको छ, धेरै मात्रामा युवाहरु पनि रहेका छन, कारवाही हुन्छ भन्ने डरले पनि महिला संलग्नतामा सुधार आएको हुन् सक्छ ।’
लागूऔषध प्रयोग, बेचविखन तथा ओसार पसार नियन्त्रणका लागि आक्रामक बनेको प्रहरीले कोशी प्रदेशका सिमावर्ती जिल्लाहरुमा लागू औषध चेकजाँचलाई तीब्रता दिएको छ । भारतीय सिमावर्ती क्षेत्रबाट लागूऔषध बढी भित्रने गरेको पाइएपछि प्रहरीले सम्भावित क्षेत्रको पहिचान गरी ती ठाउँहरुमा निगरानी र चेकजाँचलाई कडा बनाएको बताइएको छ ।
प्रतिक्रिया