युद्ध अन्त्य गर्न रुसलाई ट्रम्पको चेतावनीलगत्तै युक्रेनमा रुसी हमला !

युद्ध अन्त्य गर्न रुसलाई ट्रम्पको चेतावनीलगत्तै युक्रेनमा रुसी हमला !


दश दिनभित्र युक्रेन युद्ध अन्त्य गर्न रूसलाई अमेरिकाले चेतावनी दिएको केही दिनमै रुसले किएभमा आक्रमण गरेको छ । बिहीबार (१५ साउन) भएको रूसी आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरुले जनाएका छन् । मस्कोले भने देशको पूर्वमा युक्रेनी सेनाको प्रमुख गढ रहेको शहर नै कब्जा गरेको दाबी गरेको छ ।

ड्रोन र क्षेप्यास्त्र आक्रमणले बिहानको समयमा किएभका कम्तीमा २७ स्थानमा प्रहार गरेको शहरका अधिकारीहरूले बताएका छन् । ‘६ जनाको मृत्यु भएको पुष्टि भएको छ, हामीसँग ५२ जना घाइते भएका छन्, लगभग ३० जना अस्पतालमा छन् । यसमा नौ जना बालबालिका पनि छन्’, शहरको सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले एक पोस्टमा भनेका छन् ।

‘किएभमा यो एउटा डरलाग्दो बिहान हो । क्रूर रुसी आक्रमणहरूले सम्पूर्ण आवासीय भवनहरू ध्वस्त पारे र विद्यालय र अस्पतालहरूलाई क्षति पुऱ्याए । नागरिकहरू घाइते हुन्छन् र मारिन्छन् । अझै पनि भग्नावशेषमुनि मानिसहरू छन्’, युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिगाले एक्समा लेखेका छन् ।

युक्रेनमा रुसले गरेको पछिल्लो घातक आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोलाई युक्रेनमा आक्रमण रोक्न १० दिनको अल्टिमेटम जारी गरेको केही दिनमै आएको हो ।

रुसले पूर्वमा युक्रेनी सेनाका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण सैन्य केन्द्र रहेको चासिभ यार शहर कब्जा गरेको बताएको छ ।

बिहीबारको आक्रमण मङ्गलबार सैन्य प्रशिक्षण शिविरमा रुसी हमलालगत्तै भएको थियो । उक्त हमलामा कम्तीमा तीन युक्रेनी सैनिकको मृत्यु भएको थियो ।

बिहीबारको आक्रमणपछि युक्रेनका विदेशमन्त्रीले अन्तर्राष्ट्रिय समुदायलाई सन् २०२२ फेब्रुअरीमा सुरु भएको युद्ध अन्त्य गर्न मस्कोमाथि अत्यधिक दबाब दिन आह्वान गरेका छन् ।