‘कि त जोत हलो, कि त छोड थलो, हैन भने अब छैन भलो’

‘कि त जोत हलो, कि त छोड थलो, हैन भने अब छैन भलो’


  • राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

जीवनमा धेरै कुरा अनिश्चित भए पनि मृत्यु भने अटल सत्य हो । तर, केही व्यक्तित्व यस्ता हुन्छन्, जसको जीवनको अन्त्यले होइन, उनले गरेका कर्मले समाजमा अमिट छाप छोड्दछ । यस्ता महान् व्यक्तित्वमध्ये एक हुन्, क्रान्तिकारी किसान नेता भीमदत्त पन्त ।

आज साउन १७ गते, देशभर विभिन्न कार्यक्रममार्फत सहिद भीमदत्त पन्तको स्मृति दिवस मनाइँदैछ । तर, यो दिवस केवल सम्झनाको औपचारिकता नभई विचार र आन्दोलनको पुनः स्मरण र कार्यान्वयनको आह्वान पनि हो ।

विसं १९८३ मङ्सिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मिएका भीमदत्त पन्त, आमा सरस्वती पन्त र बुवा तारानाथ पन्तका सुपुत्र थिए । उनले भारतको उत्तरप्रदेशस्थित सिंहाइबाट संस्कृत विषयमा अध्ययन गरेका थिए । धार्मिक ग्रन्थ गीता र वैज्ञानिक समाजवादका विचारधारा मार्क्सवादको सङ्गमले उनभित्रको विद्रोही चेतनालाई झन प्रज्वलित बनायो ।

सामुदायिक रूपान्तरणका लागि पैरवी समूहका अध्यक्ष नरिराम लोहार भन्छन्, ‘शिक्षाले उनी विद्वानमात्र नभइ सामाजिक न्यायको लागि समर्पित योध्दा बने, गीता र मार्क्सलाई आत्मसात् गरेर उनले वर्गीय विभाजनमाथि प्रश्न उठाए ।’

लोहारका अनुसार विसं २००७ देखि क्रान्तिकारी नेता पन्तले सामन्ती सोच, छुवाछूत, श्रमशोषण र अन्यायको विरुद्धमा विद्रोहको झण्डा उठाए । उनले नेतृत्व गरेको आन्दोलनले उनलाई भीमदत्त कांग्रेसको संज्ञा दिलायो । वि.सं. २००९ वैशाख २ गते डडेल्धुराको घटालथानमा उनले सबैलाई एउटै थालीमा जय दासको हातबाट कथित उपल्लो जातका व्यक्तिहरूलाई पानी खुवाएर एक ऐतिहासिक सन्देश दिए, ‘अब कुनै जाति ठूलो सानो छैन ।’

त्यसैगरी पूर्वसांसद निरा जैरूका अनुसार, ‘भाषणमा होइन, उहाँले व्यवहारमै जातीय विभेद तोड्नुभयो, एउटै थालीमा सबै जातजाति बसेर खाने परम्परा उहाँले सुरू गर्नुभयो । भीमदत्तले दलित, मगर, थारू र अन्य उत्पीडित समुदायलाई सङ्गठित गर्दै मुक्ति सेना गठन गर्नुभएको थियो । उहाँले बेदखली रोक्नुभयो, तमसुख जलाउनुभएको थियो । सामन्तीलाई विस्थापित गर्ने यो उहाँको महानता थियो, जोताहा किसानको पक्षमा उहाँले गरेको विद्रोह सम्झनलायक छ ।’

हलिया नेता राजुराम भूल भन्छन्, “हामी हलियामात्र होइन, नागरिक हौँ भन्ने आत्मविश्वास भीमदत्तबाट पायौँ, उनी केवल नेता थिएनन्, हाम्रो आत्मसम्मानका संवाहक थिए, आन्दोलन पुरा नहुँदै उनले सहादतप्राप्त गर्दा मुक्तिका लागि वर्षौं पर्खिनुपर्‍यो ।”

भुलका अनुसार भीमदत्तको लोकप्रियताले स्थानीय ठालु र राज्य संयन्त्र डरायो, अन्ततः विसं २०१० साउन १७ गते, बुडरको गइलेकमा उनलाई गोली प्रहार गरियो । टाउको काटेर बाँसको टुप्पोमा झुण्ड्याएर आतङ्क सिर्जना गरियो । परिवार बहिष्कृत भयो, काजक्रिया गर्न दिइएन । अन्ततः हरिद्वारमा अन्त्येष्टि गरियो ।

‘भीमदत्तको मृत्यु एउटा युगको अन्त्य थियो, तर विचारको सुरू पनि”, भूमि अधिकारकर्मी रामबहादुर चुनारा भन्छन्, ‘त्यसपछिका आन्दोलनहरूले पनि उहाँको प्रेरणालाई जीवित राख्दै आएका छन् ।’ शहीद पन्तले तत्कालीन समयमा दिएका नाराहरू उत्तिकै सान्दर्भिक रहेको उनी बताउँछन् । नेता पन्त भन्ने गर्दथे, ‘कि त जोत हलो, कि त छोड थलो, हैन भने अब छैन भलो ।’ अधिकारकर्मी चुनारा थप भन्छन्, ‘बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो, गरिबका दिन आयो, ठालुको काल आयो । उठ जागरे, नेपाली नवजवान जाग रे ।’

वि.सं २०७२ फागुनमा सरकारले क्रान्तिकारी नेता पन्तलाई शहीद घोषणा गरेको थियो । नेता पन्तको सपना तब मात्रै पूरा हुन्छ जब भूमिहीन, सुकुम्बासी र बाढीपीडितलाई जग्गा दिइन्छ, कृषि आत्मनिर्भरता सुनिश्चित गरिन्छ, शिक्षा, स्वास्थ्य, रोजगारी सबैमा समान पहुँच हुन्छ, न्याय, समानता र समावेशीताको मूल्य व्यवहारमा लागू गरिन्छ ।

भीमदत्त पन्त आज भौतिक रूपमा उपस्थित छैनन्, तर उनका विचारहरू, सपना र बलिदानले आजको भूमिहीनको आवाजलाई मार्गदर्शन गरिरहेको भूमि अधिकारकर्मीहरू बताउँछन् ।