व्यापारीहरू बरु व्यापार छोड्न तयार भए तर कम नाफा खाएर सामान बेच्न उनीहरू तयार छैनन् । एउटै सामानबाट उनीहरूलाई दशौं सामानको पैसा उठाउनु छ । त्यसैले त व्यापार खस्किँदै गयो । सर्वसाधारणको नजरमा व्यापारीहरू ‘ठग’ बन्दै गए ।
✍ अनुसा थापा
नेपालीको प्रमुख चाड दशैँ नजिकिँदै छ । दशैँ आउन अब दुई महिना मात्र बाँकी छ । पोहोरसम्म व्यापारीहरूले दशैँ आउनुभन्दा तीन-चार महिना अगावै सामानहरू मगाउँथे । रेडिमेड लत्ताकपडा, झोला, जुत्तालगायतका सामान धमाधम गरिन्थ्यो । तर, यसपाला भने अवस्था फेरिएको छ ।
दशैँ मुखमा आइसक्यो, व्यापारीहरूले अहिलेसम्म नयाँ सामान आयात गरेका छैनन् । कारण- पुरानै स्टक बाँकी हुनु र सामान ल्याउन पैसाको अभाव हुनु हो । दशैँ ठूलो चाड हो । दशैँमा नयाँ लुगा लगाउने परम्परा नै छ । जसका कारण बजारमा अत्याधिक लत्ताकपडाको खपत हुन्थ्यो ।
दशैँ व्यापारीका लागि आर्जन गर्ने विशेष मौका हो । वर्षभरिको कारोबारभन्दा बढी कारोबार व्यापारीले दशैँमा गर्छन् । चीनबाट सय रुपैयाँमा ल्याएको सामान महाबौद्ध, न्यूरोडलगायतका होलसेल व्यापारीले तीन सयमा बेच्छन् । त्यही सामान पसलमा ल्याएर खुद्रे व्यापारीहरूले हजार-पन्ध्र सयसम्ममा बेच्छन् । तर, यो वर्ष कमाउने मौकामै व्यापारीहरू हात बाँधेर बसेका छन् । किनकि, बजार डामाडोल छ भन्ने कुरा उनीहरूले राम्ररी बुझेका छन् । सर्वसाधारणसँग पैसा छैन, जसकारण नयाँ सामान हाल्न उनीहरू डराएका छन् । पोहोरकै सामान नबिकिरहेको अवस्थामा नयाँ सामान हालेर के गर्नु ? भन्ने मनशाय धेरै व्यापारीमा देखिएको छ ।
सर्वसाधारणले खुद्रे व्यापारीबाट सामान किन्छन् । तर, खुद्रे व्यापारीकहाँ नै बिक्री नभएकाले नयाँ सामान लिन होलसेल जानेहरू घटेका छन् । सामान किन्न खुद्रे व्यापारी नआएपछि होलसेल व्यापारीले नयाँ सामान नमगाएका हुन् । अधिकांश व्यापारीले विगतदेखि नै उपभोक्तालाई ठगी गर्दै आएका छन् । सस्तो मूल्यमा सामान ल्याएर अस्वाभाविक मँहगोमा बेचिन्छ । न होलसेल व्यापारीले भ्याट बिल दिन्छन् न खुद्रा व्यापारीले । लुगा/कपडामा व्यापक ठगी हुन्छ भन्ने कुरा सर्वसाधारणले राम्ररी बुझिसकेका छन् । यसर्थ पनि पहिले दिनकै पचासौँ हजारको व्यापार गर्ने पसलमा अहिले सुख्खाराम लागेको छ ! दिनको हजार-पन्ध्र सयको व्यापार गर्न पनि महामुस्किल छ ।
भनिन्छ नि, जबसम्म सत्य बाहिर आउँदैन, तबसम्म ठगीधन्दा चल्ने हो । व्यापारीको हकमा पनि त्यस्तै भएको छ । हिजो व्यापारीले व्यक्ति छानी-छानी ठगे, अहिले त्यसको परिणाम भोग्दैछन् । व्यापारीहरूले सर्वसाधारणलाई त लुटे, सरकारलाई पनि छोडेनन् । सर्वसाधारणबाट एउटा सामानमा हजारौं रुपैयाँ नाफा खाने अनि राज्यलाई करचाहिँ नतिर्ने । कुनैबेला सामान किन्नका निम्ति पसलभित्र गएर लाइन बस्नुपर्थ्यो । होटलमा समेत घण्टौं कुर्नुपर्थ्यो । तर, परिस्थिति फेरिएको छ । व्यापारीहरू बोलाइ-बोलाइ ग्राहकलाई आफ्नो पसलमा लैजान्छन् ।
मुलुकका नाम चलेका सुपर मार्केटहरूको पनि अवस्था उस्तै छ । पहिलेको तुलनामा ग्राहक आधा घटिसकेको छ । यस्तो हुनुको प्रमुख कारण कम गुणस्तरता र अत्याधिक चर्को मूल्य हो । सुपरमार्केटहरूमा लुगा छोइनसक्नु छ । व्यापारीको नियत नै ठग्ने भयो । जसरी हुन्छ ठग्ने अनि आफू मोटाउने !
व्यापारीमा इमान्दारिता, जवाफदेहिता र नैतिकता हुनुपर्छ । तर, यहाँ त व्यापारको नाममा ठगी मौलाएको छ । भन्ने बेला व्यापारी, गर्नेचाहिँ ठगी । व्यापारीलाई सर्वसाधारणलाई मुर्गा बनाएर आफू कमाउनु छ । अनि त्यो लुटको धन्दा कतिञ्जेल चल्छ ? लुटको अनुहार कहिले न कहिले त बाहिर आइहाल्छ ।
व्यापारीहरूले यत्रो वर्ष ठगे, अहिले उनीहरूको सत्यता बाहिर आएको छ । जसको असर व्यापारीहरूले यतिबेला भोगिरहेका छन् । व्यापार सुकेपछि व्यापारीहरू सटर छोड्ने निर्णयमा पुगेका छन् । दशैँसम्म हेर्ने, त्यसपछि पनि व्यापार फस्टाएन भने सटर छोड्ने मनसायमा उनीहरू पुगेका बुझिन्छ ।
व्यापारीहरू बरु व्यापार छोड्न तयार भए तर कम नाफा खाएर सामान बेच्न उनीहरू तयार छैनन् । एउटै सामानबाट उनीहरूलाई दशौं सामानको पैसा उठाउनु छ । त्यसैले त व्यापार खस्किँदै गयो । सर्वसाधारणको नजरमा व्यापारीहरू ‘ठग’ बन्दै गए । बजार अनुगमनको लागि थुप्रै निकाय छन् । तर, कसैले पनि इमानका साथ बजार अनुगमन गर्दैनन् । कुन सामानको रेट कति ? मूल्य पनि निर्धारण गर्दैन । खुल्ला अर्थतन्त्र भनेर छाडा छोडिदिएको अवस्था छ ।
एउटा रोचक कुरा छ- नेपाल उद्योग व्यवसायी महासंघ संस्था ऐन २०१८ अन्तर्गत दर्ता भएको छ । त्यसको छाता संगठनहरू संस्था ऐन २०३४ अन्तर्गत दर्ता भएको छ । यो ऐनमा दर्ता भएका उद्योगले कर तिर्नु पर्दैन । यहाँ उद्योग, कलकारखाना छैन तर आफूलाई उद्योग व्यवसायी भन्दै हिँडेका छन् । उद्योग व्यवसायीमा वास्तवमै कति उद्योग छ ? विवरण सार्वजनिक गर्नुपऱ्यो । किनकि सुनदेखि नुन, जनैदेखि गुन्द्रुकसम्म विदेशबाट आयात हुन्छ ।
बाहिरबाट सामान आयात गरेर बिक्री गर्ने अनि आफूलाई उद्योगी-व्यवसायी भन्छन् । उद्योग व्यवसाय महासंघ हुनका लागि उद्योग मन्त्रालयमा दर्ता हुनुपर्छ । संस्था ऐन गृह मन्त्रालयअन्तर्गत छ । उद्योग व्यवसायीले कर छल्नका लागि त्यसो गरेका हुन् । आफैं कर छल्ने अनि हामी देश बनाउँछौं भन्दै हिँड्ने ! योभन्दा बढी नौटंकी के होला ?
यहँँ उद्योगी व्यवसायी भनिएकाहरू किन ‘दलाल’ हुन् भने नेपालमा सियोसम्म बन्ने कारखाना छैन, अरुको देशमा बनेको सामान किन्ने अनि बीचमा बसेर कमिशन खाने ! देशमा पटक-पटक राजनीतिक परिवर्तन भयो । तर, पञ्चायत कालमा ल्याएको संस्था ऐन अहिलेसम्म परिवर्तन गरिएको छैन । पुरानै ऐनले मुलुक चलिरहेको छ । जनताले पटक-पटक मतदान गरेर सांसदलाई कानुन बनाउने ठाउँमा पुऱ्याए, तर पुरानो ऐन खारेज गरेर नयाँ ऐन ल्याउन चासो देखाइएको छैन । यसमा न कुनै जनप्रतिनिधिले आवाज नै उठाए । सो ऐनमा संस्था दर्ता गर्ने, राजनीतिक पार्टीको झोला बोक्ने अनि आफूलाई व्यवसायी भन्दै हिँड्ने गरेका छन् ।
सबै महासंघ र त्यसका छाता संगठन यही ऐनमा दर्ता भएको छ । कर नतिर्ने अनि महासंघ खोलेर नेता बन्दै हिँड्ने प्रवृत्ति छ । पञ्चायत कालमा बनेको ऐन लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएको डेढ दशक बितिसक्दा पनि परिवर्तन गर्न नसक्नु लाजमर्दो छ । यसले जनप्रतिनिधि कतिसम्म ‘कामचोर’ छन् भन्ने प्रष्ट पार्छ ।
जनतासँग काम छैन । काम गरेको ठाउँमा पनि पैसा नपाइरहेको अवस्था छ । दालभात खानै पैसा छैन भने लुगा कसले किन्छ ? बुढापाकाले भन्थे- व्यापारीले खोज्छ दाउ, उपभोक्ताले खोज्छ भाउ । एउटा सामानमा घटाएको जस्तो गरेर व्यापारीले अर्को सामानबाट असुल्छ । यसर्थ, बजारमा भएको ठगीको अन्त्य गर्ने र राजश्व असुल गर्ने हो भने सरकारले तीव्र रुपमा बजार अनुगमन गर्नुपर्छ । बिल नदिने व्यापारीलाई उचित कारबाही गर्नुपर्छ । पैसा नहुनेलाई के दशैँ के तिहार ! दुई छाक टार्न समस्या परिरहेको अवस्थामा जनताले कहाँबाट नयाँ लुगा किन्नु ?
प्रतिक्रिया