पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आउनुभएका विनयजङ्ग बस्नेतले नवलपुर (नवलपरासी)मा समेत बेवारिसे शव व्यवस्थापन सुरु गरेका छन् । नवलपुरको कावासोतीमा बेवारिसे शव व्यवस्थापन तथा पुनर्जीवन केन्द्रको शाखा सञ्चालन गरी उनले नवलपुर, चितवन र मकवानपुरमा भेटिएका बेवारिसे शवको व्यवस्थापन सुरु गरेका हुन् ।
हालसम्म सात हजार बढी बेवारिसे शवको व्यवस्थान गरिसकेको उल्लेख गर्दै बस्नेतले अब नवलपुरमा समेत अभियान सुरु गरिएको जानकारी दिए । उनले आफ्नो संस्थाले बेवारिसे शवको दाहसंस्कारसँगै सडकमा बेवारिसे अवस्थामा भेटिएका व्यक्तिलाई आश्रम, दुर्व्यसनी भएमा निःशुल्क पुनःस्थापना केन्द्रमा लगेर उपचार गर्ने र आफन्त नभेटिएका शवको दाहसंस्कार गर्ने काम गर्दै आएको बताए ।
बस्नेतले आफूले पैसा र नामका लागि नभइ सामाजिक उत्तरदायित्व बहन गर्न बेवारिसे शवको व्यवस्थापन गर्दै आएको भन्दै यस अभियान प्रहरी प्रशासनले पनि सघाइरहेको जानकारी दिए ।
संस्थाकी महिला विभाग प्रमुख पूजा विश्वकर्माले आफन्त नभेटिएर बेवारिसे अवस्थामा रहेका शवको दाहसंस्कार गर्दा आत्माले शान्ति पाउने र आफूले आत्मसन्तुष्टि महसूस गर्ने बताइन् । नवलपुरमा अभियान सुरु भएपछि मध्यविन्दु प्रादेशिक अस्पतालमा रहेका विभिन्न चार वटा बेवारिसे शवको पवित्र धार्मिकस्थल देवघाटमा लागेर सामूहिक दाहसंस्कार गरिएको उनले जानकारी दिइन् ।
प्रतिक्रिया