भोको पेटमा ‘राष्ट्रियगान’ गाउन सकिन्छ र मन्त्रीज्यू ?

भोको पेटमा ‘राष्ट्रियगान’ गाउन सकिन्छ र मन्त्रीज्यू ?


घटना नं. १

एक दिन पत्रकारहरूको एउटा जमात बाटोमा भेट भयो । निकै समयपछि भेट भएकोले हामी अलि फरक ढंगबाट प्रस्तुत भयौँ । कोही आफ्नो हालखबर बताउन थाले त कोही मिडियामा काम गरेर केही हुनेवाला छैन, उल्टै दुश्मनी मात्र हुने रहेछ । यस्ता शब्द बोल्दै थिए साथीहरू । उनीहरूको निराशाले भरेको प्रश्नको उत्तर पाउन कुतूहल जाग्यो । ‘के गर्नु दिदी… पाँच महिना भयो, हामीले तलब पाएका छैनौँ । मिडिया… मिडिया भन्दै सबैले आकर्षणको कुरा ठान्छन् तर वास्तविकता के छ त्यो त्यहाँ काम गर्नेलाई मात्र थाहा हुन्छ । न सुरक्षाको प्रत्याभुत गर्ने वातावारण हुन्छ न त समयमा पैसा नै दिन्छ । उल्टै सञ्चारगृहको सबै काम गर्नुपर्ने हुन्छ । घर छोडेर काठमाडौं आइयो, घर-परिवारबाट पनि बाहिर रहेका छोराछोरीले कमाइरहेका छन् भन्ने ठान्छन्, तर टिभीको स्क्रिन मेकअप गरेर समाचार पढ्दा सबैको ध्यान समाचार तथा हामीतिर हुन्छ तर हामी पत्रकारको पीडा कसैले पनि बुझ्दैनन् । आफ्नो समाचार प्रकाशन गर्न सबैलाइ हतार छ, तर हाम्रो लागि बोल्न कसैलाई पनि फुर्सद छैन । सबै प्रमाणसहित श्रम अदालतमा मुद्दा दर्ता गरे तर पनि स्थिति गाह्रो नै छ । घरवालालाई समयमै भाडा तिर्नैपर्छ, सबै चिज किनेर खाने हो तर पत्रकारिता पेशाले बाँच्न दिन्छ भन्ने जस्तो लागेन… ।’ यसरी उनले पत्रकारिताभित्रको दुःखद पाटाहरू सुनाए । श्रमिकले पाउनुपर्ने न्युनतम पारिश्रमिक पनि हामीले पाउँदैनौं ।

घटना नं २

पत्नी दोहरीसाँझमा काम गर्छिन् भने उनका पति डान्सबारमा काम गर्ने रहेछन् । एक कार्यक्रममा उनीहरूसँग साक्षात्कार गर्ने समय मिल्यो । सुन्दा पनि अचम्म पर्ने उनीहरूको पेशागत जीवन रहेछ । एक घरमा माथि दोहरीसाँझ त्यहाँ पत्नी काम गर्छिन् भने सोही घरको तल्लो तल्लामा डान्सबार छ, त्यहाँ पतिले गर्ने रहेछन् । दुवै जना समयमा नै कार्यक्षेत्रमा आउँछन् र समयमा नै घर पनि फर्किन्छन् । यसरी हेर्दा राति काम गर्ने उनीहरूको पेशा एक किसिमले सुरक्षित नै देखिन्थ्यो, यस अर्थमा कि एउटै पेशामा आवद्ध जीवनसाथी छन् भने पेशाभित्रको दुःखलाई नजिकबाट बुझ्न सक्छन् भन्ने हो, तर त्यसभित्रको दुःखको पाटो भयावह थियो त्यो हो पारिश्रमिक समयमा नपाउने पाए भने ४-५ महिनापछि मात्र पाउने । दोहोरी साँझ र डान्सबारमा काम गर्ने भनेपछि समाजिक दृष्टि पनि गलत छ, समाजिक सुरक्षाको प्रत्याभुत हुन सकेको छैन । यहाँ काम गर्ने सबैलाइ यौन-श्रमिक हो भनेर लेबल लगाइदिन्छ, जसले गर्दा हामी विशुद्ध काम गर्ने कलाकार हौँ कि यौन-श्रमिक हौँ ? छुट्याउन गाह्रो छ । यदि यौन-श्रमिक हौँ भने कामबाहेक कुनै पनि समयमा हामी बाहिर ग्राहकसँग गएका छैनौँ, राति काम गर्छौं दिउँसो सानो सहकारीमा पैसा उठाउने काम गर्छौं भन्दै गुनासो गर्दै थिए ।

हुनत दोहोरी साँझ र डान्सबारमा लगायत यस्तै प्रकृतिका अरु पेशामा पनि अवस्था त्यही नै हो पारिश्रमिक नपाउनु । न पेशाको सुनिश्चिता न त समाजिक न्याय । यस्ता पीडाबाट दोहरी साँझ र डान्सबारका श्रमिकहरू गुज्रिरहेका छन् । त्यसमाथि सरकारले तोकेको न्युनतम पारिश्रमिक त परकै कुरा हो । कति दिन त भोकै बस्न परेको गुनासो पनि गर्दै थिए । अब नेपालमा बसेर केही हुँदैन बरु पासपोर्ट बनाएर गल्फ देशतिर लाग्नुको विकल्प केही छैन उनीहरूको गुनासो थियो ।

घटना नम्बर ३

साथीको बुबालाई अस्पतालमा भर्ना गरिएको छ भन्ने खबर पाएपछि हामी अस्पतालमा भेटन पुग्यौँ । एक निजी अस्पतालनमा साथीको बुबाको उपचार चलिरहेको थियो । निकै दिनसम्म बस्नुपर्ने रहेछ । स्वासप्रश्वासमा गाह्रो भएपछि उपचारार्थ बुबालाई करिब अस्पतालको ७ दिनको बसाइपछि डिस्चार्ज गऱ्यो । त्यसबेला बुबाको उपचार गर्न तल्लिन थुप्रै डाक्टर नर्स थिए । घर आउने बेलामा बुबाले ‘तपाईंहरू मेरो ज्युँदो देवता हुनुहुँदोरहेछ, तपाईंहरू नभएको भए बाँच्न सक्ने अवस्था थिएन मेरो’ भन्दै नर्सहरूलाई हात जोड्दै स्याबास भन्दै हुनुहुन्थ्यो । अब मेरो सानी छोरीलाई मैले नर्स पढाउनेछु अध्ययन पछि उ तपाईंहरू जस्तै बिरामीको सेवा गर्नेछिन् ’ भन्नुभयो । त्यत्तिकैमा एक नर्सले ‘बुबा.. बरु अरु शिक्षा दिनुस् तर मेडिकल लाइनतिर नदिँदा नै राम्रो’ भनिन् एक नर्सले । ‘किन ?’ भनेर सोध्दा ‘हाम्रो पेशा देख्दा आकर्षण देखिन्छ तर हामी दुःखी छौँ यस मानेमा कि हामीले तलब पाउँदैनौं, मात्र ९ हजार पाउँछौं । उनीहरूको कुरा सुनेर हामी अचम्ममा पऱ्यौँ । किन यस्तो भन्दा सेवाको मुल्य हुँदैन । धेरै खट्नुपर्ने बिरामी अन्तिम अवस्थामा आउँछ यहाँ आएर मृत्यु भयो भने चिकित्सकको लापरवाहीले भयो भन्दै हामीमाथि नै आक्रमण गर्न आउँछन् । विविध कुराले हामी सुरक्षित छैनौँ बरु आफ्ना छोरीलाई अरु शिक्षा पढाउनु अब हामी पनि बाहिर जाने सोच बनाएका छौँ एक नर्सले भनिन् । पेशाहरूमा अत्यधिक आकर्षण मानिएको नर्स पेशा हो । छुट्टै तरिकाको अध्ययन, सेवाको भावना र एक बिरामीको ज्युँदो देवताको रुपमा लिइन्छ नर्स पेशालाई लिने गरिन्छ तर यसभित्रको पनि कहालिँदो अवस्था छ ।

माथि प्रस्तुत तीन वटा क्षेत्रका घटनाले बताउँछ कि हाम्रो देशमा श्रम र श्रमिकको अवस्था कस्तो छ ? क्षेत्र फरक छन् तर त्यसभित्रको दुखेसो सबैको उस्तै नै छ त्यो सबै पारिश्रमिकमा आएर जोडिन्छ । श्रम गरेर पछि पारिश्रमिक पाउनु हरेक श्रमिकको अधिकार हो तर अधिकांश श्रमिक सरकारले तोकेको न्युनतम पारिश्रमिक पाएको छैनन् । सञ्चार क्षेत्रमा काम गर्ने पत्रकारहरू दिन-प्रतिदिन पलायन भइरहेका छन् । सञ्चारगृहले तलब दिँदैन तर काम भने उनीहरूले भने जस्तो गर्नुपर्छ ।

अझै कतिपयले पारिश्रमिक माग्दा शारिरीक शोषण हुने गरेको पनि सुनाउँछन् । सुरुका दिनमा सञ्चारको माध्यमले आफू देखिनु आफ्नो आवाज लैजानु एक फेसन थियो । त्यतिखेर पैसाभन्दा पनि टिभीमा मुख देखाउनेको मात्रै होड हुन्थ्यो र साहुहरू पनि पैसा नमागेपछि खुशी भएर काममात्रै लगाएको लगाइ गरे । तर, पछि अवस्था फरक भयो । काम गर्ने श्रमिकले मेरो पारिश्रमिक कति भनेर माग्दा यो पत्रकारको योग्यता छैन भनेर कतिलाई निकालियो जुन घटना अहिले पनि ताजा छ । त्यसमाथि झन् महिला पत्रकारहरूलाई त उनीहरूको रूपको आधारमा वर्गीकरण गरियो । सुरुको दिनमा जे कुरा पनि राम्रो लाग्दै गयो तर बिस्तारै कामको चाप, खाली पेटको सवालले बाँधिदै गएपछि पैसा आवाजहरू आउन थाले, जब पारिश्रमिकको पाउन आवाज आउन थाले त्यतिबेला पत्रकारहरू निकालिए वा बेतुकको आरोप लगाइयो । पैसा र शरिरलाई अगाडि राखियो । शरीर दियो भने पैसा पनि पाउने वातावरण बनाइन थालियो र बिस्तारै सञ्चारगृहबाट पत्रकारहरू आफ्नो एकल लगानीमा युटुब तथा अरु अनलाइनमा पहुँच बढाउन थाले । सरकारी सञ्चारगृहहरूमा सबैको पहुँच हुँदैन । धेरैले निजीमै काम गर्न खोज्छन् तर पारिश्रमिकको मुल्य नै हुँदैन । कोभिड-१९ मा धराशायी बनेको नेपाली सञ्चारजगत् त्यसपछि पारिश्रमिकको सवालमा झन् तल परेको छ । निजी स्तरमा खुलेका केही सञ्चारहरूले कर्मचारीहरूलाई तलब दिए पनि अधिकांशको अवस्था विकराल नै छ । यो अवस्थालाई अनुगमन गर्ने कसले ?

हामी सबै कानूनले बाँधिएका व्यक्ति हौँ । कानून बमोजिम सबै काम गर्नुपर्छ भन्ने मान्यता राख्छौँ तर त्यही कानूने तोकेको पारिश्रमिक पनि दिन चाहँदैनौँ या हाम्रो श्रमिकले पाउँदैनन् । यसले गर्दा कुनै पनि सेवाप्रदायक क्षेत्रको परिणाममा सकारात्मकता ल्याउँदैन । समय क्रमसँगै सुचना प्रवाह गर्ने तरिका फरक भयो । कुनैबेला एफएम मा सबैको चासो हुने गर्दथियो भने त्यसपछि पत्रिकातिर पनि आकर्षण बढ्यो भने अहिले अनलाइनतिरको आकार्षण बढेको छ । दिन-रात घोटिएर काम गर्ने पत्रकारले पाउने पारिश्रमिक बारे कति कतै बहस भएको देखिँदैन । सञ्चारगृहको बारेमा सञ्चार तथा सूचना मन्त्रालयले चासो लिनुपर्ने हुन्छ । हरेक सञ्चार गृहहरूको अनुगमन गर्नु आवश्यक हुन्छ । काम गर्ने श्रमिकले नियुक्तिपत्र पाएका छन या छैनन्, तलब कति तोकिएको छ र कति दिन्छ त्यो सबै कडा रुपमा अनुगमन गरेपछि मात्र प्राप्त गर्न सकिन्छ ।

यसैगरी सरकारी अस्पताल बाहेक निजी स्तरमा खुलेका अस्पतालहरूमा काम गर्ने डाक्टर नर्सहरूले पाउने पारिश्रमिकको मुल्य पनि कम नै छ । ड्युटीको समय हुँदैन । आफ्नो अनुभव बनाउनलाई काम गर्नु पनि आवश्यक छ तर काम गरेपछि पाउने पारिश्रमिकको मूल्य कुन स्तरमा छ त्यो देखिन पाइन्छ । आफ्नो पेशाको मर्यादा रहे पनि उचित पारिश्रमिक नपाउँदा नैराश्यता आउनु स्वभाविक नै हो । बुबा-आमाको छोराछोरीलाई डाक्टर नर्स बनाउने ठुलो सपना हुन्छ र बन्छन् पनि तर त्यसको मूल्य कम पर्दा उनीहरू पलायन हुने स्थितिमा पुग्छन् । अहिले निजी अस्पतालहरूको अनुगमन गर्ने हो भने १० हजार र १२ हजार महिनामा डाक्टर र नर्सहरू काम गरिरहेको भेटिन्छन् । लाखौको लगानी गरेर पढेको शिक्षाको पारिश्रमिक उचित नहुँदा अधिकांश विदेशमा राम्रो स्थान पाउन जान्छन् ।

त्यसैगरी मनोरञ्जन क्षेत्र भनेर चिनिने दोहरीसाँझ, डान्सबार, मसाज पार्लर, खाजघर लगायत व्यापक मात्रामा श्रम बजार ओगटेको क्षेत्रमा काम गर्ने श्रमिकहरूको अवस्थाबारे सरकारले खासै चासो लिएको देखिन्न । यस क्षेत्रमा रोजगारदाताले दिने श्रम र श्रमिकले श्रमपछिको पारिश्रमिकको अवस्था कस्तो छ त्यो पाटोमा खासै कसैको ध्यान पुग्दैन । हजारौँ युवाहरू अहिले यो क्षेत्रमा काम गरिरहेका छन्, तर के उनीहरूले श्रम ऐन २०७४ ले भने जस्तो सेवा सुविधा पाएका छन् त ? या श्रमिक स्वयम पनि रोजगारदाताप्रति उत्तरदायी बनेका छन् त ? यस बारे चासो कसले लिने ? रोजगारदातालाई पछाडि पारेर केवल श्रमिकको कुरा मात्रै भन्नु मिल्दैन । किनकि व्यवसायमा उतारचढाव आँउदा स्वयम् रोजगारदातालाइ धेरै असर पुग्छ । व्यवस्थापनको सबै सवालहरू रोजगार दाताले नै बेहोर्नुपर्ने हुन्छ । यो अवस्थामा स्वयम श्रमिकको पनि रोजगारदाताहरूप्रतिको दायित्व हुन्छ । यस्ता अनेकौँ सवालहरू मनोरञ्जन क्षेत्रभित्रका छन् । श्रमिकको सामाजिक न्यायको सवालमा कुरा उठाउनुपर्ने बेला उल्टै ती श्रमिकहरूलाई मानव बेचविखनमा परेको र त्यस क्षेत्रमा ज्यादति नै हुन्छ भनेर गलत नामले टयाग लगाइदिन्छौँ । कतै गलत कार्य भए होलान् नभएको भन्न मिल्दैन तर अहिले मनोरञ्जन क्षेत्रलाई लिएर व्यापक बहस भइरहेको अवस्थामा अपराधका काम अलि कम नै हुन्छन् । काम गर्दा पाउने तलबले आफू र परिवार समेतलाइ पाल्नुपर्ने हुन्छ एक श्रमिकको उपर पाँच परिवार सदस्य हुन्छन् तर ती श्रमिकले आफ्नो कला देखाएर गीत गाएको वा नृत्य गरेको पनि उचित पारिश्रमिक पाउँदैनन् । भाडाको घर, सबै कुरा त्यही पैसाबाट चलाउनुपर्ने, महँगीको मार यो सबै आतकङ्ले श्रमिक च्यापिएको हुन्छ । अनि उसले स्वस्थ सेवा कसरी दिन सक्छ ।

यि सबै श्रमसँग जोडिएका क्षेत्र हुन् । अरु क्षेत्र पनि छन श्रमसँग जोडिएको । तर जाँहा पनि सवाल आउँछ पारिश्रमिकको । के सरकारले तोकेको न्युक्तम ज्याला श्रमिकले पाएको छन त ? हालै मात्रै नेपाल सरकारको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८२ श्रावण १ गते देखि लागु हुने गरिकन श्रमिकको न्युनतम पारिश्रमिक रु. १९,५५० तोकेको छ । जुन श्रम ऐन २०७४ को दफा १०७ बमोजिम हो । हरेक दुई वर्षमा पारिश्रमिक निर्धारण गर्नु पर्ने बाध्यत्मक कानून भएकोले तोकिनु परेको हो । तर तोकिएको पारिश्रमिक श्रमिकले पाएका छन त भनेर अनुगमन गर्ने कस्ले ? केवल पारिश्रमिक मात्र बढाएर हुँदैन । त्यो भने जतिको पारिश्रमिक के माथि भनिएको क्षेत्रका श्रमिकहरूले पाएका छन् त ? उनीहरूलाई पारिश्रमिक दिने कसले ? सबै त श्रम अदालत जान सक्दैनन्, किनकि त्यहाँ पनि आफू कर्मचारी भएको प्रमाण चाहिन्छ र कतिले श्रम ऐनले व्यवस्था गरेको करारनामा पनि दिएका हुँदैनन् भने केको आधारमा श्रमिक पारिश्रमिकको लागि मुद्दा लड्न जान्छन् त ? हामीकहाँ व्यापक श्रमशोषण छ । मेहनत एउटाको हुन्छ मौज अरुले लिएको हुन्छ । काम गर्ने मान्छे सल्लाह लिन खोज्छ तर सल्लाहको पनि पैसा दिन खोज्दैन । यस्तो दुषित नियत राखेर काम भइरहेको हुन्छ ।

श्रमको पारिश्रमिक नपाएर हजारौँ मजदुर भोकै सुत्न बाध्य हुन्छन् अनि हामी समृद्ध नेपालको नारा लगाउँछौँ । खालिपेटमा राष्ट्रियगान कसैले पनि गाउन सक्दैनन् माननीय मन्त्रीज्युहरू ! त्यसैले पहिला श्रमअनुसारको पारिश्रमिक समयमा पाउनुपर्ने व्यवस्था मिलाउनु आवश्यक हुन्छ, यसको लागि श्रम मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीच समन्वय हुन आवश्यक छ । आ-आफ्नो क्षेत्रमा बेला-बखतमा अनुगमन गर्नु आवश्यक हुन्छ । वैदेशिक रोजगारीबाट आएको रेमिटयान्समा खुशी हुनु पर्दैन, किनकि देशमा काम गर्ने श्रमिकहरूले त झन् न्युनतम पारिश्रमिक पनि पाउँदैनन् । देशको जनशक्तिलाई बाहिर होइन स्वदेशमै राख्न उचित प्रबन्ध मिलाउ !

[email protected]