मुख्यमन्त्री लामाद्वारा ‘पार्टी सभापतिको आग्रह’मा पदबाट राजीनामा

मुख्यमन्त्री लामाद्वारा ‘पार्टी सभापतिको आग्रह’मा पदबाट राजीनामा


बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन् । आइतबार (१८ साउन) हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरी उनले राजीनामा दिएका हुन् ।

पत्रकार सम्मेलनलगत्तै राजीनामा बुझाउन हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगे पनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा त्यहाँ नरहेकाले त्यसै फर्किएका थिए । सोमबार प्रदेश प्रमुख हेटौँडा फर्किएपछि राजीनामा पत्र बुझाउने मुख्यमन्त्री लामाले जानकारी दिएका छन् ।

यही साउन १४ गते भएको पार्टी संसदीय दलको नेतामा पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिएका हुन् ।

पत्रकार सम्मेलनमा मुख्यमन्त्री लामाले पार्टीभित्रको बृहत् छलफलपश्चात् राजनीतिक मूल्य, मान्यता स्थापित गर्न उचित ठानेर पार्टी सभापतिले आपसी समझदारीमा सरकार सञ्चालन गर्नेगरी मार्ग प्रशस्त गर्न आग्रह गरेकाले आफूले राजीनामा दिएको खुलासा गरे । उनले नवनिर्वाचित पार्टी संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा सहमति र सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

आफूले इमान्दारितापूर्वक काम गरे पनि प्रदेश सरकार अचानक ढाल्ने प्रपञ्चले स्थिरता र स्थायित्वको प्रतिबद्धतामाथि प्रश्न उठेको मुख्यमन्त्री लामाको भनाइ छ । असन्तुष्टि पोख्दै उनले भने, ‘यस्तै षडयन्त्र र प्रपञ्च परम्पराका रूपमा स्थापित भएमा र अन्य प्रदेशमा पनि यस्ता कार्य सुरु भएमा देश कता जान्छ ? यो घटनाले गम्भीर प्रश्न मात्रै होइन लोकतान्त्रिक गणतन्त्रमाथि नै खतराको आशङ्का जन्माएको छ, संविधानले त मलाई मुख्यमन्त्रीमा अझै सुरक्षित नै गरेको थियो, तर पार्टीभित्रको बृहत्तर छलफलपश्चात् विधि, पद्धति मूल्य र मान्यता स्थापित गर्नु उचित ठानेर र पार्टी सभापतिको आग्रहमा मार्ग प्रशस्त गर्न मुख्यमन्त्री पदबाट राजीनामा दिन लागेको हुँ ।’

photo: rss