- आरपी उपाध्याय, नवलपरासी
नवलपरासीका उखु किसानहरुले पाउँदै गरेको उखु उपदान रकम कटौती भएपछि किसानहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।
राज्यले उखु किसानमाथि गरेको अन्यायको विरुद्ध नवलपरासी लगायत देशभरिकै उखु उत्पादन किसानहरु आन्दोलनमा उत्रिएका हुन् ।
नेपाल सरकारले दिँदै आएको उखुको अनुदान रकम रु. ७० बाट घटाएर रु. ३५ गरेपछि किसानहरु आन्दोलित भएका हुन् ।
उखु किसानहरूले पाउँदै गरेको अनुदान रकम कुनै पनि बहानामा कटौती गर्न नपाइने भन्दै किसानहरुले आन्दोलनमार्फत सरकारलाई दबाब दिन लागेका बताइएको छ।
आन्दोलनको पहिलो चरणमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको उखु उत्पादक कृषक समिति लुम्बिनी प्रदेशका संयोजक उमेशचन्द्र यादवले जानकारी दिए । संयोजक यादवका अनुसार यही साउन २० गते अपरान्ह ३ बजे जिल्ला अन्तर्गतका चिनी कारखानाहरुमा टायर बालेर विरोध प्रदर्शन गरिने र आउँदो भाद्र ८ गते संघीय राजधानी काठमाडौंकेन्द्रीत निर्णायक आन्दोलन गरिनेछ ।

उखु किसानहरूले यसपुर्वको आर्थिक वर्षमा उखुको बक्यौता रकम भुक्तानी नपाएको पनि किसानहरूको गुनासो रहँदै आएको छ।
नेपालको प्रमुख नगदेबालीको रुपमा उखु बालीलाई राष्ट्रिय बालीको रुपमा घोषणा गरिए पनि राज्यबाट सेवासुविधा पाउन नसक्नु राज्यको किसानप्रतिको हेपाहा दृष्टिकोण रहेको किसानहरुको आरोप छ ।
पश्चिम नवलपरासीका दश हजार उखु किसानहरूले उखुखेती गर्दै आएका छन् भने जिल्लाको लुम्बिनी, बाग्मती, इन्दिरा र मोहिनी चिनी कारखानाहरुले उखु क्रसिङ कार्य गर्दै आएको तथा जिल्लाका चिनी कारखानाहरुले किसानको उखु खरिद भुक्तानी दिन अझैसम्म पनि आलटाल गर्न थालेपछि केही किसानहरु उखु खेतीको विकल्पमा केरा खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
प्रतिक्रिया