यमनको समुद्री किनारमा डुंगा डुब्दा २० भन्दा बढी आप्रवासीको मृत्यु, दर्जनौँ बेपत्ता

यमनको समुद्री किनारमा डुंगा डुब्दा २० भन्दा बढी आप्रवासीको मृत्यु, दर्जनौँ बेपत्ता


यमनको दक्षिणी अब्यान प्रान्तको तटनजिक अफ्रिकी आप्रवासी बोकेको एक अवैध डुंगा डुब्दा कम्तीमा २० जनाको ज्यान गएको छ भने दर्जनौं अझै बेपत्ता छन्।

गत शनिबार राति करिब ११ बजे (स्थानीय समयअनुसार) तीव्र हावाहुरीका कारण करिब १५० आप्रवासी बोकेको डुंगा पल्टिएको स्थानीय एक अधिकारीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

शुक्रा र जिन्जिबार शहरका तटहरूमा उद्धार टोलीले आइतबार बिहानसम्म २० भन्दा बढी शवहरू फेला पारेका छन् । ज्यान बचाउन सफल १२ जनालाई उद्दार गरी उपचारका लागि शक्रा जनरल अस्पतालमा लगिएको छ । अझै कैयौं आप्रवासीको अवस्था अज्ञात रहेको अधिकारीहरूले जनाएका छन्।

अब्यान सुरक्षा निर्देशनालयले जारी गरेको विज्ञप्तिमा समुद्री दुर्घटनामा मृत्यु भएका अधिकांश आप्रवासीहरू इथियोपियाली मूलका रहेको उल्लेख गरिएको छ। ती आप्रवासीहरू अफ्रिकाको हर्न क्षेत्रबाट यमन हुँदै अन्य देशतर्फ जान अवैध रूपमा यात्रा गरिरहेका थिए।

सुरक्षा अधिकारीहरूका अनुसार सीमित स्रोतसाधनका बाबजुद मृतकको शव संकलन तथा उद्दार कार्य तीव्र रुपमा भइरहेको छ। शवहरू विभिन्न तटीय क्षेत्रमा छरिएका अवस्थामा फेला परेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

अब्यानका अधिकारीहरूले यमनको जलसीमाबाट हुँदै भइरहेको अवैध आप्रवासन रोक्न स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको तत्काल हस्तक्षेपको माग गरेका छन्।

यमन, दशकौँदेखि जारी द्वन्द्वको चपेटामा परेका कारण, अफ्रिकी आप्रवासीका लागि पनि अति कठिन र जोखिमपूर्ण मार्ग बन्दै गएको छ। संयुक्त राष्ट्रसंघका अनुसार यमन विश्वकै सबैभन्दा ठूलो मानवीय संकटमध्ये एकबाट गुज्रिरहेको छ।