कांग्रेस संसदीय दलको नेता बानियाँद्वारा बागमती प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस

कांग्रेस संसदीय दलको नेता बानियाँद्वारा बागमती प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस


नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका इन्द्रबहादुर बानियाँले नयाँ मुख्यमन्त्रीका लागि आज (१९ साउन) प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष दाबी पेस गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को समर्थनमा कांग्रेस दलका नेता बानियाँले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन् ।

कांग्रेस संसदीय दलका नेता बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाद्वारा संयुक्त रूपमा प्रदेश प्रमुख देवकोटालाई बुझाइएको पत्रमा बानियाँलाई मुख्यमन्त्री बनाउन कांग्रेसका ३७ जना प्रदेशसभा सदस्य र एमालेका २७ जना प्रदेशसभा सदस्य गरी ६४ जना प्रदेशसभा सदस्यहरूको समर्थन रहेको दाबी गरिएको छ ।

यही साउन १४ कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा बानियाँसँग पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आज प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए ।

मुख्यमन्त्री लामा राजीनामा बुझाएसँगै कांग्रेस बागमती प्रदेशका सभापति समेत रहनुभएका बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । यसअघि आजै प्रदेश प्रमुख देवकोटाले भोलि साउन २० गते दिउँसो २ः०० बजेसम्मको समय सीमा दिएर नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।