पार्टीभित्रका गुट र स्वार्थ समूह विघटन गर्ने स्थायी समिति बैठकको सङ्कल्प
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीभित्र देखिएको गुटउपगुट र स्वार्थ समूह विघटन गर्ने सङ्कल्प र प्रतिबद्धता व्यक्त गरेको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा सोमबार (१९ साउन) सम्पन्न भएको स्थायी समिति बैठकले पार्टी निर्णयविपरीतका गतिविधि गर्ने नेता कार्यकर्तालाई कारबाहीको दायरामा ल्याउने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । उनका अनुसार पार्टीभित्रको गुट उपगुटको बारेमा अनुगमन गर्न तल्ला कमिटीसम्म विभिन्न समिति बनाउने निर्णय भएको छ, बैठकले पार्टीको शुद्धीकरण र रूपान्तरणको क्षेत्रमा धेरै महत्त्वपूर्ण निर्णय गरेको छ ।
पार्टीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आचारसंहिता र नियमावली निर्माण गर्ने तथा पार्टीलाई विधि पद्धति र प्रक्रियामा सञ्चालन गर्ने निर्णय गरेको जानकारी उनले दिए । पार्टीका उपमहासचिव जनार्दन शर्माले स्थायी समितिको निर्णयलाई महसूस गरेको र बैठकको निर्णयमा हस्ताक्षर गर्न सहमत भएको पनि उनले खुलाए ।
बैठकले दशैँ र तिहारको बीचमा केन्द्रीय समिति बैठक आह्वान गर्ने, पोखरामा पुगेर रोकिएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई भदौ १५ गतेदेखि सुरू गरेर ताप्लेजुङसम्म पुर्याउने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।
चन्द नेतृत्वको नेकपासँग एकता
बैठकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पार्टी एकता गर्ने निर्णय गरेको छ । ‘दुवै पार्टीले एकता गर्ने निर्णय गरिसकेका छन् अब छिट्टै एकता हुन्छ’, प्रवक्ता सापकोटाले भने, ‘अन्य माओवादी धारसँग पनि एकताको प्रयास भइरहेको छ ।’ उनले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीसँग पनि एकताको बारेमा छलफल भइरहेको जानकारी दिए ।
photo: rss
प्रतिक्रिया