सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ

सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ


सात किलोग्राम ८०० ग्राम सेतो हेरोइनसहित लागुऔषध नियन्त्रण ब्यूरोले दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले लाओसबाट बैंकक हुँदै काठमाडौं आएका भारत उत्तर प्रदेश, जैनपुरका ३५ वर्षीय फिरोज अहमद र सोही स्थानबाट आएका भारतको इरोद, तालिमनाडुका ३२ वर्षीय मौलेश्वर नन्जुन्दामूर्ति कुरानल भेललाई पक्राउ गरी मंगलबार (२० साउन) सार्वजनिक गरेको हो ।

अहमदलाई साउन १७ र भेललाई साउन १८ गते पक्राउ गरिएको ब्यूरोका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिएकाा छन् । प्रहरीले निजहरूको साथबाट सात किलोग्राम ८०० ग्राम सेतो हेरोइन बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार कारबाही अगाडि बढाइएको सहप्रवक्ता निरौलाले बताए । निजहरूलाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।