बागमती प्रदेशको छैटौँ मुख्यमन्त्री बने इन्द्रबहादुर बानियाँ

बागमती प्रदेशको छैटौँ मुख्यमन्त्री बने इन्द्रबहादुर बानियाँ


नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार (२० साउन) संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मकवानपुरको तत्कालीन हर्नामाडी गाविस-४ दियावतीमा २०२७ साल भदौमा जन्मिएका बानियाँ बागमती प्रदेशको छैटौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका हुन् । यसअघि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा तामाङ प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको राजनीति गर्दै मूल पार्टीको राजनीतिमा होमिएका बानियाँ नेपाली कांग्रेसको बागमती प्रदेशका सभापति हुन् । विसं २०४४ मा राजनीतिमा प्रवेश गरेका बानियाँ २०५१ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनिएका थिए ।

विसं २०५२ मा नेपाल विद्यार्थी सङ्घको जिल्ला सहसचिव हुँदै २०५५ सालमा तरुण दलको जिल्ला सचिव र २०५६ सालमा तरुण दलको जिल्ला सभापति भएका थिए । विसं २०५८ मा कांग्रेस मकवानपुरका जिल्ला कार्यसमिति सदस्य भएका बानियाँ २०७३ साल चैत १२ गते नेपाली कांग्रेस मकवानपुरको सभापतिमा निर्वाचित भएका थिए ।

विसं २०७८ मङ्सिरमा भएको कांग्रेस बागमती प्रदेश अधिवेशनबाट प्रदेश सभापतिमा बानियाँ निर्वाचित भएका थिए । विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं १ बाट निर्वाचित ५२ वर्षीय बानियाँ २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृह राज्यमन्त्रीमा नियुक्त भइ काम गरिसकेका छन् ।

विसं २०७४ मा मकवानपुर क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका बानियाँ सर्वसम्मत कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुनिएका थिए । विसं २०७९ को प्रदेशसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भए पनि उनी संसदीय दलका नेतामा बहादुरसिंह लामा तामाङसँग पराजित भएका थिए ।

यही साउन ९ गते संसदीय दलका नेता लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि संसदीय दलको नेताको पद रिक्त भएको थियो । रिक्त दलको नेता चयनका लागि साउन १४ गते भएको निर्वाचनमा २२ मत ल्याएर बानियाँ दलको नेतामा निर्वाचित भए ।

बानियाँ दलको नेतामा निर्वाचित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिएपछि उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । राजनीतिसँगै सफल निर्माण व्यवसायीका रूपमा परिचित बानियाँ राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा एक विश्वासिलो व्यक्तिका रूपमा चिनिन्छन् ।

बागमती प्रदेश सरकारको प्रवक्तामा तामाङ

बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङलाई दिइएको छ ।

प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्री तामाङलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।