‘माओवादी केन्द्र’का वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र ‘नेकपा’का महासचिव चन्दबीच भेटवार्ता

‘माओवादी केन्द्र’का वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र ‘नेकपा’का महासचिव चन्दबीच भेटवार्ता


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच पार्टी एकताबारे छलफल भएको छ ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठको हात्तीवनस्थित निवासमा बुधबार (२१ साउन) भएको भेटघाटमा समसामयिक राजनीतिक परिस्थिति, नेपालको कम्युनिष्ट तथा क्रान्तिकारी आन्दोलन, राष्ट्रियता र पार्टी एकताको सम्भावनासहित विविध विषयमा विचारविमर्श भएको बताइएको छ ।

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग छिट्टै एकता हुने बताएका छन् । काठमाडौंमा बुधबार आयोजित एक अन्तरसंवादमा गुरुङले तत्काल वार्ता टोली गठन गरी एकताका आधार तयार गर्ने जानकारी दिए ।

देशमा बढ्दै गएको व्यवस्थामाथिको खतरा र समाजवादी क्रान्तिका लागि विचार मिल्ने शक्तिबीचको एकता अत्यावश्यक भएको जिकिर गर्दै नेता गुरुङले भने, ‘अहिले विप्लबजीको पार्टीसँग मात्रै नभएर देश, जनता र समयको मागअनुसार नेकपा (एस)सँग पनि एकताका लागि छलफल चलेको छ ।’

नेकपासँगको एकता विचार राजनीतिक प्रतिबद्धतामा त्यति धेरै भिन्नता नदेखिएकाले छिटो एकता गर्न सहज हुने तर्क गर्दै गुरुङले भने, ‘समाजवादी क्रान्तिका लागि न्यूनतमदेखि अधिकतम कार्यक्रम, सङ्गठन कसरी बलियो बनाउने, सदन र सडकसम्म सङ्घर्ष कसरी गर्ने भन्नेलगायत विषयबारे छलफल गरेर एकता आधार तयार गर्नुपर्नेछ ।’