प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन

प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन


दुई दशकअघिसम्म म्याग्दीको मालिका गाउँपालिका-३ खटेनकी ६५ वर्षीया पूर्णकला पटेललाई भेडाको ऊनबाट काम्लो, हरदुब्लो बुन्न भ्याइनभ्याइ हुन्थ्यो । ‘न्यानोका लागि ज्याकेट नहुँदासम्म हरदुब्लो ओड्ने गरिन्थ्यो । गलैँचाको विकल्पमा घरमा काम्लो बिछ्याउने, सिरकको विकल्पमा ओढ्ने चलन थियो’, उहाँले भन्नुभयो- ‘सिरक, डसना, गलैँजा सहजै पाइन थालेपछि हाम्रा मौलिक सामग्री लोप हुन थाल्यो ।’ परम्परागत राडी, पाखी, काम्लो, हरदुब्लोको प्रयोग घट्न थालेको र बजारमा बिक्री नहुँदा भेडाको ऊन कृषकले जङ्गलमै फाल्ने गरेका छन् ।

असार र कात्तिकमा ऊनले भेडालाई गर्मी हुुने र बाह्य परजीविको सङ्क्रमण नहोस भनेर ऊन काट्ने गरिन्छ । बिक्री नहुुने भएपछि घरायसी उपभोगबाहेकका ऊन जङ्गलमै फाल्ने गरेको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका भेडापालक कृषक कमल पाइजाले बताउनुभयो ।

‘ऊन निकाल्ने आधुनिक औजारको अभावमा कैँचीको सहाराले काट्ने गरिन्छ’, उहाँले भन्नुभयो- ‘सीपयुुक्त जनशक्तिको अभावका कारण ऊनबाट कपडा बनाउने चलन हराउँदै गएपछि खपत पनि घटेको हो ।’ ऊनबाट बुनेका मौलिक कपडा वातावरणमैत्री हुन्छ । म्याग्दीको गुर्जा, मल्कवाङ र कुइनेमङ्गलेमा बसोबास गर्ने अल्पसङ्ख्यक छन्त्याल समुदायको मौलिक पोसाक ऊनबाट बनेका कपडा हुन् ।

आर्थिक वर्ष २०७९/८० मा १८ हजार ५६७ भेडा रहेको म्याग्दीमा २०८०/८१ मा घटेर १७ हजार ५६५ वटामा झरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ । अघिल्लो वर्ष ६१ हजार ४२४ वटा बाख्रा रहेको म्याग्दीमा २०८०/८१ मा ६० हजार ४२३ मा झरेको केन्द्रका सूचना अधिकारी सुभाष रेग्मीले बताउनुभयो ।

ऊनको बजारीकरणमा समस्या भएको उहाँले बताउनुभयो । सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुवेदीले भेडाबाख्राको ऊनबाट सामान बनाउनेलगायत मौलिक सीपहरु लोप हुन नदिन समुदायस्तरमा अन्तरपुस्ता ज्ञान सीप हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका बासिन्दाले मौलिकता जोगाउन गाउँका सबैले ऊनका कपडा लगाउने गरेको वडासदस्य टेकजित छन्त्यालले बताउनुभयो ।

photo: rss