सप्तरी जिल्लाको राजगढ गाउँपालिका-२, कमलपुर निवासी ३६ वर्षीय लालु यादवको गत मङ्गलबार राति प्रहरीको गोलीबाट भएको मृत्युप्रति नेपाल-भारत खुला सीमा संवाद समूहको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
सम्वाद समूहका सप्तरी जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले एक प्रेस विज्ञप्ति जारी गरी सो घटनाप्रति दुःख व्यक्त गर्दै निन्दा गरेका छन् ।
मृतक यादव स्थानीय श्री खुवलाल जगन्नाथ शक्ति आधारभुत विद्यालयका व्यवस्थापन समितिका अध्यक्षसमेत थिए । उनले लाइसेन्स प्राप्त गरी कानुनी प्रक्रियामार्फत मदिरा व्यवसाय सञ्चालन गर्दै आएका थिए ।
तथापि, स्थानीय प्रहरी प्रशासनले नियमनको नाममा दमनकारी शैली अपनाउँदै नियन्त्रणमा लिने क्रममा उनलाई गोली प्रहार गरी ज्यान लिएको आरोप मण्डलले लगाएका छन् । यस घटनाले सम्पूर्ण मानवअधिकार, न्यायप्रक्रिया र राज्यसंयन्त्रको चरित्रमाथि गम्भीर प्रश्न उठाएको उनको ठहर छ।
‘शान्तिपूर्ण तवरले समाधान गर्न सकिने स्थितिमा समेत बल प्रयोग गरिनु अमानवीय र गैरकानुनी हो। प्रहरीका लागि नियन्त्रणका वैकल्पिक उपायहरू हुँदाहुँदै गोली प्रहार गर्नु शक्ति दुरुपयोगको ज्वलन्त उदाहरण हो । यस्ता घटनाले संविधान प्रदत्त नागरिक अधिकार र लोकतान्त्रिक मूल्य-मान्यतामाथि प्रहार गर्दछ’, उनले विज्ञप्तिमा भनेका छन् ।
सो घटनालाई गम्भीर रूपमा लिँदै लालु यादवको हत्याको निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न तत्काल समिति गठन गरिनुपर्ने, घटनामा संलग्न दोषी प्रहरी अधिकारीहरूमाथि तत्काल कारबाही प्रक्रिया सुरु गरिनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति, सुरक्षा तथा न्याय सुनिश्चित गरिनुपर्ने र राज्यले यस घटनालाई सामान्यीकरण नगरी गम्भीर संवेदनशीलताका साथ सम्बोधन गरिनुपर्ने माग सम्वाद समूहले गरेको छ ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘यस्ता घटनाहरूले राज्य र नागरिकबीचको विश्वास खण्डित गर्ने मात्र होइन, सीमावर्ती क्षेत्रमा असन्तोष र अस्थिरता निम्त्याउने खतरा बढाउँछन् । खुला सिमाका संवेदनशील स्थानहरूमा राज्य संयन्त्रले जनतामाथि विश्वास गर्ने र लोकतान्त्रिक उत्तरदायित्व पूरा गर्ने कार्यशैली अवलम्बन गर्न अत्यावश्यक छ। न्यायको सुनिश्चितता नै स्थायी शान्ति र सुशासनको आधार हो । सरकार गम्भीर होस् ।’
प्रतिक्रिया