सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल अब दक्षिण एसियाको उदाउँदो ‘सिलिकन भ्याली’का रूपमा स्थापित हुँदै गरेको बताउनुभएको छ ।
जापान-नेपाल आइटी एसोसिएसन (जेएनआइटिए)द्वारा काठमाडौंमा आयोजित जापान-नेपाल आइटी फोरम, २०२५ मा मन्त्री गुरुङले नेपाल प्राकृतिक हिसाबले पनि सूचना प्रविधिको हब बनाउन उपयुक्त स्थान भएकाले जापानसँग आइटी उद्योग सञ्चालन गर्न आह्वान गर्नुभयो ।
‘जापानी नवप्रवर्तन, लगानी र प्रविधिमा नेतृत्वलाई नेपालले स्वागत गर्न तयार छ’, मन्त्री गुरुङले भन्नुभयो- ‘जापानी लगानीकर्ता, अनुसन्धानकर्ता र प्रविधि उद्यमीलाई नेपालको डिजिटल यात्रामा सहभागी हुन म आह्वान गर्दछु ।’
उहाँले नेपाल सरकार नियामकीय स्पष्टता, नीतिगत समन्वय र पूर्ण संस्थागत सहयोग प्रदान गर्न तयार रहेकोसमेत उल्लेख गर्नुभयो ।
जापान र नेपालको प्राविधिक सहकार्यलाई नयाँ उचाइ दिने उद्देश्यले आयोजित जापान-नेपाल आइटी फोरमले दुई देशबीचको डिजिटल कूटनीतिलाई संस्थागत आधार प्रदान गर्नेमा विश्वास व्यक्त गर्दै उहाँले सम्मेलन ऐतिहासिक उपलब्धि भएको बताउनुभयो ।
‘नेपाल सरकारकोतर्फबाट म जापान सरकार, नेपालस्थित जापानी राजदूतावास, आयोजक संस्था टिएआइ, विभिन्न उद्योग साझेदार र सहभागी सबैप्रति हार्दिक आभार प्रकट गर्दछु’, उहाँले भन्नुभयो, ‘यस मञ्चले दुई देशका दूरदृष्टि भएका वैज्ञानिक, नीति निर्माता, प्राविधिक विज्ञ र उद्योग नेताहरूलाई एउटै छानामुनि ल्याउने अवसर दिएको छ ।’
उहाँले सम्मेलनमार्फत नेपाल-जापान आइटी करिडोरको आधार निर्माण हुने अपेक्षा व्यक्त गर्नुभयो । ‘हामी यो साझेदारीलाई दीर्घकालीन रणनीतिक सम्बन्धको सुरुआतका रूपमा हेरिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘जापानबाट नवप्रवर्तन, पूर्वाधार र लगानीमा सहकार्य, परामर्श र साझेदारीको अपेक्षा गरेका छौँ । नेपालले युवाशक्ति, रणनीतिक भौगोलिक अवस्था र स्वाभाविक सम्पदासहित दक्षिण एसियाको सम्भावित डिजिटल केन्द्र बन्ने सामथ्र्य राख्छ ।’
मन्त्री गुरुङले नेपाल सरकार जापानी लगानीलाई आइटी हब, कम्प्युटिङ केन्द्र, बिपिओ र सफ्टवेयर आउटसोर्सिङ क्षेत्रमा स्वागत गर्न पूर्ण रुपमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । ‘हामी नीति, कर छुट, पूर्वाधार तथा एकद्वार प्रणालीमार्फत लगानी अनुकूल वातावरण बनाउन तयार छौँ’, उहाँले भन्नुभयो ।
नेपालले डिजिटल नेपाल फ्रेमवर्क २.० अन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र सुशासनजस्ता क्षेत्रलाई पूर्ण रुपमा डिजिटलाइज गर्न चाहेको उल्लेख गर्दै मन्त्री गुरुङले यसका लागि जापानसँग प्रविधि तथा लगानीमा साझेदारीको माग गरिएको बताउनुभयो ।
नेपालमा हरित ऊर्जामा आधारित डेटा सेन्टर स्थापना गर्न, ग्रामीण कनेक्टिभिटीका लागि आफ्नै स्याटेलाइट प्रक्षेपण गर्न जापान सरकारसँग सहकार्यको प्रस्ताव गरिएको उहाँको भनाइ थियो । साथै, साइबर सुरक्षा प्रणाली, फाइबर अप्टिक विस्तार, टेलिकम सुधार, फाइभजीलगायत क्षेत्रमा पनि उहाँले सहकार्यको खाँचो औँल्याउनुभयो ।
नेपाल सरकारले जापानसँग मिलेर एआई एक्सेलेन्स सेन्टर, डाटा सेन्टर स्थापना र एआई शिक्षादेखि अनुसन्धानसम्मका कार्यक्रम सञ्चालन गर्न चाहेको पनि मन्त्री गुरुङले उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा स्वर्णीम वाग्लेले जापानसँग प्राविधिक व्यवसाय गर्ने प्रशस्त आधार रहेको उल्लेख गर्दै ठूला कम्पनीबाट बृहत् व्यवसाय सुरु गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । ‘पछिल्लो समय आइटीमा युवाको भविष्य राम्रो देखिएको छ, यसका लागि विदेशी लगानीमात्रै होइन, लगानी बाहिर पनि सहजै लैजान सकिने सहज वातावरण सिर्जना गराउन सरकारले आवश्यक नीति ल्याउनुपर्छ’, उहाँले भन्नुभयो ।
कार्यक्रममा जापान–नेपाल आइटी एसोसिएन (जेएनआइटिए)का अध्यक्ष शरद राईले जापानमा आइटी व्यवसायका प्रशस्त सम्भावना भएको र त्यस अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा जापानका सूचना प्रविधिका जानकार, व्यवसायी र नेपाली युवा आइटी उद्यमीबीच छलफलसमेत भएको थियो ।
प्रतिक्रिया