‘प्यालेस्टिनी पेले’ भनेर चिनिने प्यालेस्टिनी राष्ट्रिय टोलीका पूर्व खेलाडी सुलेमान अल-ओबेदको गाजा पट्टीमा इजरायली गोली लागेर मृत्यु भएको छ । प्यालेस्टिनी फुटबल सङ्घ (पिएफए)ले एक विज्ञप्तिमा भनेको छ, ‘इजरायली सेनाले दक्षिणी गाजा पट्टीमा मानवीय सहायताका लागि पर्खिरहेका मानिसहरूलाई लक्षित गर्दा ४१ वर्षीय ओबेदको बुधबार मृत्यु भएको थियो ।’
गाजा भोकमरीको सङ्कटमा परेको अवस्थामा, संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले गत महिना इजरायली सेनाले मे महिनाको अन्त्यदेखि यस क्षेत्रमा खाद्यान्न सहायता लिन खोजिरहेका एक हजार तीन सयभन्दा बढी प्यालेस्टिनीको हत्या गरेको बताएको थियो ।
गाजाको खादामत अल-शती क्लबका पूर्व स्टार ओबेदले प्यालेस्टिनी टोलीका लागि २४ अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।
‘आफ्नो लामो करियरमा, अल-ओबेदले एक सयभन्दा बढी गोल गरे, जसले उनलाई प्यालेस्टिनी फुटबलको सबैभन्दा चम्किला ताराहरू मध्ये एक बनायो’, पिएफएले भनेको छ ।
मिडफिल्डर ओबेदले इजरायलले १९६७ देखि कब्जा गरेको वेस्ट बैंकको अल–अमारी युथ सेन्टर क्लबका लागि पनि खेलेका थिए ।
सन् २०१० मा त्यहाँ बस्दै गर्दा, ओबेद मौरिटानियामा मैत्रीपूर्ण खेलका लागि जाँदै गर्दा ‘सुरक्षा कारणहरू’का लागि जोर्डन सीमामा फिर्ता गरिएका गाजाका राष्ट्रिय टोलीका छ खेलाडी मध्ये एक थिए ।
खेलाडीहरूले वेस्ट बैंकमा खेल्न अनुमति दिने विशेष अनुमतिपत्र नवीकरण गर्न असफल भएको एक इजरायली सुरक्षा अधिकारीले त्यतिबेला बताएका थिए ।
गाजा सहरमा जन्मिएका ओबेद विवाहित थिए र उनका पाँच सन्तान थिए ।
प्यालेस्टिनी लडाकू समूह हमासले सन् २०२३ अक्टोबरमा इजरायलमा गरेको आक्रमणबाट सुरु भएको गाजा युद्ध सुरु भएदेखि खेलकुद र स्काउटिङ क्षेत्रका ६ सय ६२ जना मारिएका छन् । तीमध्ये फुटबल समुदायका तीन सय २१ जना छन् ।
हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणले गाजामा कम्तीमा ६१ हजार दुई सय ५८ जनाको ज्यान लिएको छ ।
आधिकारिक तथ्याङ्कमा आधारित एएफपीको तथ्याङ्कअनुसार सन् २०२३ मा इजरायलमा भएको आक्रमणमा एक हजार दुई सय १९ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया