गाजा शहरलाई आफ्नो नियन्त्रणमा लिने इजरायलको योजनाप्रति चीनले ‘गम्भीर चासो’ व्यक्त गर्दै इजरायललाई ‘आफ्ना खतरनाक कार्यहरू तत्काल रोक्न’ आग्रह गरेको छ।
‘गाजा प्यालेस्टिनी जनताको हो र यो प्यालेस्टिनी भूभागको अविभाज्य भाग हो’, विदेश मन्त्रालयका प्रवक्ताले दिएको सन्देशमा भनिएको छ।
‘गाजामा मानवीय सङ्कट कम गर्न र बन्धकहरूलाई मुक्त गर्नका लागि तत्काल युद्धविराम गर्नु नै सही उपाय हो’- सन्देशमा भनिएको छ ।
‘गाजा द्वन्द्वको पूर्ण समाधान युद्धविराममा निर्भर गर्दछ । त्यसपछि मात्र तनाव कम गर्ने मार्ग प्रशस्त गर्न सकिन्छ र क्षेत्रीय सुरक्षा सुनिश्चित गर्न सकिन्छ’- चिनियाँ प्रवक्ताद्वारा जारी सन्देशमा भनिएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्रस्ताव गरेको र उनको सुरक्षा क्याबिनेटले स्वीकृत गरेको योजनाअन्तर्गत इजरायली सेनाले गाजा शहरलाई आफ्नो नियन्त्रणमा लिने उनको कार्यालयले शुक्रबार (८ अगस्ट) जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गाजामा युद्ध भएको झण्डै दुई वर्षपछि नेतन्याहूले यस क्षेत्रका २० लाखभन्दा बढी जनतालाई अनिकालको सङ्घारबाट फिर्ता ल्याउन र प्यालेस्टाइनी लडाकूहरूले बन्धक बनाएकाहरूलाई मुक्त गर्न युद्धविरामका लागि देश र विदेशमा दबाबको सामना गरिरहेका छन् ।
‘गाजा पट्टीमा हमासलाई ‘परास्त’ गर्ने योजनाअन्तर्गत इजरायली सेनाले ‘गाजा शहरलाई आफ्नो नियन्त्रणमा लिने तयारी गर्नेछ र युद्धक्षेत्रबाहिरका नागरिकलाई मानवीय सहायता वितरण गर्नेछ’- प्रधानमन्त्रीको कार्यालयले भनेको छ।
बेइजिङले गाजामा जारी द्वन्द्व यथाशीघ्र अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न इच्छुक रहेको जनाएको छ ।
प्रतिक्रिया