नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालबीच समसामयिक राजनीतिक परिस्थिति र दुई पार्टीबीचको एकतालगायत विषयमा छलफल भएको छ ।
हात्तीवन (ललितपुर)स्थित श्रेष्ठको निवासमा भएको भेटमा दुई नेताबीच नेपालको वर्तमान राजनीतिक परिस्थिति र कम्युनिष्ट क्रान्तिकारी शक्तिको कार्यभारबारे गम्भीर छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ । त्यसक्रममा नेपालका विभिन्न राजनीतिक दलको वर्तमान अवस्था र भूमिका, कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनर्गठनका विषयमा विचार–विमर्श भएको जनाइएको छ ।
यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी भदौ ८ गते काठमाडौंमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।
पार्टीभित्रको वैचारिक विवाद, सङ्गठनको आन्तरिक द्वन्द्व समाधान गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिएका छन् । पार्टीको सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँग गरिने सहकार्यलगायत विषयमा निर्णय गरिने बताइएको छ ।
संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा पार्टीले सञ्चालन गरेका अभियानबारे समीक्षा गरिने बैठकमा पार्टीका नेताहरूलाई दिइएको भूगोलकेन्द्रित जिम्मेवारी तथा कार्य प्रगतिको छलफल गरिने पनि जनाइएको छ ।
प्रतिक्रिया