मैनाको अस्मिता

मैनाको अस्मिता


मैना
कसैकी छोरी हुन
कसैकी दिदी हुन
कसैकी बहिनी हुन
कसैकी आमा हुन
कसैकी पत्नी हुन
निरन्तर पीडामा छट्पटिएकी मैना
तपाई हाम्रै आफन्त हुन ।

आफन्त
तपाई रगतको नाता मात्रै नसंझनोस
तपाई छालाको रङ् मात्रै नसंझनोस
रगत
जसको होस रातो हुने गर्छ
छाला
जसको होस अस्थिपञ्जर ढाक्ने गर्छ
आफन्त
रगतको साइनो मात्रै नहुन सक्छ
छालाको रङ् मात्रै नहुन सक्छ
मैनाहरु लुटिइ रहेछन
दिन दहाडै
शोकमग्न छ समय
झोक्राइ रहेछन मैनाहरु
जिन्दगीको परिचय गुमाएर ।

मैना
अबला नारी जस्तै
लुटेराबाट लुटिएकी
कोठीमा बेचिएकी
निरन्तर पीडामा फत्किएकी
धैर्यता गुमाएर
मानसिक रोगी जस्तो
सडक चहारि रहेकी
तपाई हाम्रै आफन्त हुन् ।

मैना
कुनै महलकी सुन्दरी हैनन
कुनै शहरकी कल गर्ल हैनन
कुनै चिप्लो कारकी सुकोमल यात्री हैनन
निरन्तर समयले पिटिएकी
एक्लै रोइ कराई हिडिरहेकी
अर्ध पागल जस्तै बनाइएकी
अछुतको पगरी गुथाएर
अमानवीयताले आक्रान्त पारी
जीवन यात्राबाट हार मानेकी
तपाई हाम्रै आफन्त हुन मैना ।

आफन्त
जो महलमा बस्छन
ती हुँदै होइनन
जो परिश्रम लुट्छन
ती हुँदै होइनन
आफन्त
जो परिश्रम गर्छन
पसिना बगाउँदै
जो निर्माण गर्छन
पाखुरी बजाउँदै
जो छाप्रीमा बस्छन
कठिन जीवन बिताउन्दै
आफन्त त यिनै हुन
आफन्तको सहरा लेउ
सहारा जीवनको प्रेरणा बन्न सक्छ ।

मैना
परिश्रमी छिन
पसिना बगाउँछिन
सृजना रोपेर
सुन्दर फल फलाउँछिन्
कोमल छिन
ममता दिन्छिन
ता पनि मैना
दुःखित छिन
जिन्दगीका यात्राहरुमा
पीडित छिन्
जिन्दगीका भोगाइहरुमा
उपेक्षित र तिरष्किृत छिन्
असामाजिक समाजमा ।

तिमीले बिद्रोह गर्नै पर्छ मैना
फुकाल दासत्वका घुम्टाहरु
च्यातिदेउ छुत-अछुतका पर्दाहरु
तिम्रो मानवअधिकार खोसिनु हुन्न
तिमी सामाजिक न्याय लड
न्याय प्राप्तिमा
हाम्रो साथ रहन्छ ।

  • सुन्दरहरैंचा-६, दुलारी (मोरङ)