सुडानको एल-फाशेरमा कुपोषणका कारण एक सातामा ६३ जनाको मृत्यु

सुडानको एल-फाशेरमा कुपोषणका कारण एक सातामा ६३ जनाको मृत्यु


सुडानको घेराबन्दीमा परेको एल-फाशेर नामक शहरमा कुपोषणका कारण केवल एक साताभित्र ६३ जनाको ज्यान गएको छ । तीमध्ये अधिकांश महिला र बालबालिका रहेका जनाइएको छ ।

एएफपीले जनाएअनुसार यो संख्या केवल अस्पतालसम्म पुर्‍याइएका बिरामीहरूको मात्र हो । कमजोर सुरक्षाका कारण र सवारीसाधन नहुँदा थुप्रै परिवारले आफ्ना मृत आफन्तलाई उपचार नदिइ जमिनमा गाडेका छन् ।

गत वर्षको जेठदेखि एल-फाशेर अर्धसैनिक समूह द्रुत सहायता बल (आरएसएफ)को घेराबन्दीमा परेको छ । सो समूह सुडानको नियमित सेनासँग वि.सं २०८० को वैशाखदेखि युद्धरत छ । एल-फाशेर डार्फर क्षेत्रको सेनाको नियन्त्रणमा रहेको अन्तिम ठूला शहरहरूमध्ये एक हो । राजधानीबाट फिर्ता भएपछि सो समूहले हालै फेरि आक्रमण बढाएको छ ।

गत चैतमा नजिकैको जमजम विस्थापित शिविरमा भएको ठूलो आक्रमणपछि दशौँ हजार व्यक्ति पुनः विस्थापित भएर एल-फाशेरमै शरण लिन बाध्य भएका छन् ।

एक समय जीवनरक्षक मानिएका सामूहिक भान्साघरहरू खाद्यान्न अभावका कारण बन्द भइसकेका छन् । केही परिवार पशुलाई दिने घाँस वा फालिएका खानेकुरा खाएर गुजारा गरिरहेका छन् भन्ने खबर आएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार, एल-फाशेरमा पाँच वर्षभन्दा मुनिका करिब ४० प्रतिशत बालबालिका तीव्र कुपोषणबाट ग्रस्त छन्, जसमध्ये ११ प्रतिशत गम्भीर कुपोषणको शिकार छन् ।

साउनमा वर्षा याम चरममा पुग्ने भएकाले सहरसम्म पुग्न झनै कठिन भएको छ । बाटाहरू बिग्रिएका कारण राहत सामग्री पुर्‍याउन असम्भवजस्तै बनेको छ । तीन वर्षदेखि जारी युद्धले दशौँ हजारको मृत्यु गराइसकेको छ, लाखौँ विस्थापित भएका छन् र संयुक्त राष्ट्रसंघका अनुसार यो हाल विश्वकै सबैभन्दा ठूलो विस्थापन र भोकमरीको संकट बनेको छ ।