एलिसा ढुंगानाको ‘सौन्दर्यको भग्नावशेष’ विमोचित

एलिसा ढुंगानाको ‘सौन्दर्यको भग्नावशेष’ विमोचित


कवि तथा सञ्चारकर्मी एलिसा ढुंगानाको कविता संग्रह ‘सौन्दर्यको भग्नावशेष’ बजारमा आएको छ । वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीले मंगलबार (२७ साउन) काठमाडौंमा आयोजित कार्यक्रममा सौन्दर्यको भग्नावशेषको विमोचन गर्नुभयो ।

कार्यक्रममा प्रमुख अथिति अधिकारीले एलिसाको कविताले हरकोहीलाई संवेदित बनाउने बताउनुभयो । ‘जीवन र जगतका सत्यहरुलाई एलिसाले सहज रुपमा कवितामा उतारेकी छिन्’- वरिष्ठ कवि दिनेश अधिकारीले भन्नुभयो ।

कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालले एलिसाको कवितामा मानिसका सपना र रहरहरु मात्र होइन अवसाद र असन्तुष्टिका बीच कसरी अघि बढ्ने भन्ने सजगता पढ्न सकिने बताउनुभयो । यसैगरी, अर्का वक्ता कवि तथा प्राज्ञ डा. देवी नेपालले एलिसाका कविता सरल तर निकै गम्भीर रहेको बताउनुभयो । ‘प्रत्येक कवितामा आजका मानिसका आशा र वाध्यता पढ्न सकिन्छ’ डा. नेपालले भन्नुभयो ।

यसैगरि कवि तथा पत्रकार मणि लोहनीले एलिसाको कविताप्रतिको प्यासेनले आफू संवेदित बनेको धारणा राख्नुभयो । त्यसअवसरमा कवि एलिसा ढुंगानाले कविताप्रतिको आफ्नो चाह बालककालदेखि नै रहेको र अझै कवितामा नयाँ नयाँ काम गर्न मन लागेको बताउनुभयो । साहित्यकार जीतेन्द्र रसिकले एलिसाका कवितामा पाठकले नयाँपन भेट्ने दाबी गर्नुभयो ।

कार्यक्रममा चलचित्र निर्देशक राजेन्द्र शलभ, कवि गीता कार्की, विमला तुम्खेवा, उद्यमी शुष्मा महरा लगायतले सौन्दर्यको भग्नावशेषभित्रका कविताहरु वाचन गर्नुभएको थियो । एईएम ग्रुपका प्रवन्ध निर्देशक अजयकुमार रेग्मीले उपस्थित सबैलाई स्वागत गर्दै स्वास्थ्य र सञ्चारको क्षेत्रमा काम गर्दै आएको एईएम ग्रुपले प्रकाशनको क्षेत्रमा पनि हात हालेको र सबैको सहयेग चाहेको बताउनुभयो ।

एईएम ग्रुपले प्रकाशनमा ल्याएको सौन्दर्यको भग्नावशेषभित्र तीन खण्डमा ३८ वटा कविता समेटिएको छ । वरिष्ठ कवि तथा कलाकार रमेश श्रेष्ठले आवरण बनाउनुभएको यस कृतिमा वरिष्ठ कविवर वैरागी काइँलाले भूमिका लेख्नुभएको छ ।