अमेरिकी कर वृद्धिको खतरामा भारत

अमेरिकी कर वृद्धिको खतरामा भारत


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्र (भारत)लाई दिइएको कर वृद्धि गर्ने धम्कीको परिणामलाई कम गर्न भारतीय निर्यातकर्ताहरूले विकल्पहरूको खोजी गरिरहेका छन् । यदि भारतले रुसी तेल किन्न जारी राख्यो भने, युक्रेनमा रुसको सैन्य आक्रमणका लागि मस्कोको आम्दानी बन्द गर्ने उद्देश्यले ट्रम्पले नयाँ आयात भन्सार २५ प्रतिशतबाट दोब्बर गरेर ५० प्रतिशत पुर्‍याउने भनेपछि धेरैले गम्भीर रोजगारी हानीको चेतावनी दिएका छन् ।

एलारा सिक्योरिटिजका अर्थशास्त्री गरिमा कपुरले भनेकी छन्, ‘५० प्रतिशत भन्सारमा, भारतका कुनै पनि उत्पादनले प्रतिस्पर्धात्मक लाभ उठाउन सक्दैन ।’

विश्वको सबैभन्दा ठूलो कच्चा तेल आयातकर्ता भारतसँग आफ्नो हालको तेल आपूर्तिको करिब एक तिहाइ विदेशबाट प्रतिस्थापन गर्ने विकल्प खोज्न अगस्ट २७ सम्म समय छ ।

नयाँदिल्ली निर्यात पावरहाउस नभए पनि यसले सन् २०२४ मा लगभग ८७ अर्ब डलर मूल्यका सामानहरू संयुक्त राज्य अमेरिकामा निर्यात गरेको थियो ।

अब त्यो ५० प्रतिशत भन्सार शुल्कले रत्न र गहनादेखि कपडा र समुद्री खानासम्मका कम मार्जिन भएका श्रम-गहन उद्योगहरूलाई उल्ट्याउने धम्की दिएको छ ।

ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभले सन् २०२५ मा कपडाजस्ता क्षेत्रमा अमेरिकी बिक्रीमा ६० प्रतिशतले गिरावट आउने अनुमान गरेको छ । निर्यातकर्ताहरूले समयसीमा अघि अर्डरहरू पूरा गर्न दौडिरहेको बताएका छन् ।

मुम्बईस्थित कपडा र पोशाक निर्यातकर्ता क्रिएटिभ ग्रुपका अध्यक्ष विजय कुमार अग्रवालले भनेका छन्, ‘अगस्ट २७ अघि जे पनि ढुवानी गर्न सक्छौँ, हामी ढुवानी गरिरहेका छौँ ।’ उनको मुम्बईस्थित कपडा र गार्मेन्ट कम्पनीको अमेरिकी बजारमा लगभग ८० प्रतिशत निर्भरता छ । तर, अग्रवालले यो केवल तत्काल उपचार मात्र हो भनी चेतावनी दिनुभयो । समयसीमाभन्दा अघि सामान ढुवानी गर्दा समस्या ‘समाधान’ नहुने उनको भनाइ छ ।

‘यदि यो समाधान भएन भने अराजकता हुनेछ’ भन्दै उनले आफ्ना १५ हजारदेखि १६ हजार कर्मचारीको भविष्यका लागि चिन्तित रहेको बताए । ‘यो निकै निराशाजनक अवस्था हो… यो व्यापारको ठूलो क्षति हुनेछ’, उनले भने ।

उत्पादन विदेशमा सारिने

समस्या समाधानका लागि वार्ताहरू व्यवसायको पहुँचबाट टाढा भू-राजनीतिमा निर्भर छन् । ट्रम्पले आगामी शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने तयारी गरेका छन् । यो सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा पूर्ण आक्रमण सुरु गरेपछि दुई देशका राष्ट्रपतिहरू बीचको पहिलो प्रत्यक्ष भेटघाट हुनेछ ।

मस्कोसँग लामो समयदेखि सम्बन्ध रहेको नयाँदिल्ली नाजुक अवस्थामा छ । ट्रम्पको करको धम्कीपछि प्रधानमन्त्री नरेन्द्र मोदीले पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की दुवैसँग कुरा गरेर द्वन्द्वको ‘शान्तिपूर्ण समाधान’ गर्न आग्रह गरेका छन् ।

यसैबीच, अमेरिकी भन्सारको प्रभाव भारतमा पहिले नै महसुस हुन थालेको छ । केही अमेरिकी खरीदकर्ताहरूबाट नयाँ अर्डरहरू सुक्न थालेको व्यापारीहरूले बताएका छन् । यसले लाखौँ डलरको भविष्यको व्यापार र संसारको पाँचौँ ठूलो अर्थतन्त्रमा लाखौँ मानिसको जीविकोपार्जनलाई खतरामा पारेको छ ।

विश्वव्यापी उत्पादन सञ्चालनका साथ भारतका सबैभन्दा ठूला पोशाक निर्माताहरू मध्ये, केहीले आफ्नो अमेरिकी अर्डरहरू अन्यत्र सार्न खोजिरहेका छन् ।

शीर्ष निर्यातकर्ता पर्ल ग्लोबल इन्डस्ट्रिजले भारतीय मिडियालाई यसका केही अमेरिकी ग्राहकहरूले भियतनाम वा बङ्गलादेश जस्ता कम शुल्क भएका देशहरूमा अर्डरहरू उत्पादन गर्न आग्रह गरेको बताएको छ । ती मुलुकमा कम्पनीसँग उत्पादन सुविधाहरू पनि छन् ।

प्रमुख पोशाक निर्माता गोकलदास एक्स्पोर्टले ब्लुमबर्गलाई उसले १० प्रतिशत भन्सार रहेको इथियोपिया र केन्यामा उत्पादन बढाउन सक्ने बताएको छ ।