निम्छराहरूको उज्यालो

निम्छराहरूको उज्यालो


हजुर… हामीलाई लुटिबक्सियोस्,
चोक्टा-चोक्टा लुछेर
भोजन गरिबक्सियोस्,
क्षत्-विक्षत्, धुजा-धुजा पारेर
इच्छा तृप्ति गरिबक्सियोस्,
हजुर हामीलाई लुटिबक्सियोस् !

प्रभुसँग श्रेणी छ
हामीसँग छैन,
प्रभुसँग शक्ति छ
हामीसँग छैन,
निरीह, श्रेणीविहीन हामीहरूसँग
हजुर खेलबाड गरिबक्सियोस्,
हजुर हामीलाई लुटिबक्सियोस् !

सृष्टि गर्दा दैवले
एकै प्रक्रिया अपनाए होलान्
तर हामी निम्छरा भयौँ
प्रभु महान् होइबक्स्यो,
त्यसैले होला
मान्छे-मान्छेबीच भेद्भाव भएको,
प्रभुसँग श्रेणी छ
सिँढी पनि त छ,
श्रेणीविहीनहरूको केही छैन
कोही छैन,
हजुर हामीलाई लुटिबक्सियोस् !

हामीसँग केवल
भाले बास्ने बिहान
अर्थात्,
सूर्योदयको प्रतीक्षा गर्नुबाहेक
अरु केही छैन,
अँध्यारोपछि उज्यालो त हुनैपर्छ नि,
होइन र !

  • दिङ्ला, भोजपुर