अनियन्त्रित लेखन : संगत गुनाको फल 

अनियन्त्रित लेखन : संगत गुनाको फल 


श्री गणेशाय नमः । श्री सरस्वतै नमोनम: । प्रगतिशील समाज भए पो नूतन भाव टप्प टिप्छ; आफ्नो त समाज नै यथास्थितिवादी,  खाँच्चैसिति भनेर निदाएको बहाना गरेर मेख मार्दो पो  छ । यसको सदस्यहरूको सुध्रिने छाँट छैन। आफू चैं हुटेलमा मासुच्युरा हसुर्छ; स्वास्नी छोराछोरीले के खाए के लाए को सुर्ता छैन । पशुवत् व्यवहार – को आफ्नो को अर्कोको भेद छैन । लमलस्ट/लठाबज्र । सत्यमा ग्रहण लाग्न सक्ला किमार्थ छिप्न सक्दैन । ज्ञान विज्ञान कलि धर्मले घिच्यो, ऋग्वेदमा कृष्णलाई राक्षस भन्या छ भन्दो भो बुझक्कड । पक्ष विपक्ष जसको नि हुन्छ । पुरुषोत्तम रामलाई धोबीले अपमान गर्दो । यताउत्तिका बराला कुरामा लागेर जीवन निरर्थक तुल्याउनु हुन्न है – शास्तर पढ्नु पो पर्छ । जस्तो कर्म उस्तो फल, स्वर्गमा हैन मर्त्यमा भोग्छ अचेल । मान्छे मान्छे जस्तो छैन । मान्छे बन्न सक्नुपरो नि । स्वरुप मात्र मान्छेको भएर हुन्छ र ? आफ्नो थान्कोमा कोइ बस्या छैन; अनि बर्बाद भो भनेर के को पिरलो ? बेला छँदैमा चेते त ठिकै हो, अभर परेसि के भन्न सकिन्छ र ? 

कसीले सुन छुट्याउँछ । धर्मात्मा र पापात्माको भेद होला नि । अर्काको चित्त दुखाउनु  हुन्न भन्ने थाहा हुँदाहुँदै नि यदाकदा दशाले त्यस्तो काम गराइहाल्छ। लेखेको कुरो कसै मेटिन्न । भगवान  श्रीकृष्णलाई मणि चोरेको दोष लाग्यो; छ्यानब्यान हुँदा निर्दोष ठहरिनु भो । आफ्नो भाषा, संस्कृति, रितिरिवाज, संस्कार, भेषभुषा, चालचलन, धर्म सहितको अग्रगमनको अपरिहार्यता । पैसोमा मरिहत्तेर सम्बन्ध तोड्नु भएन नि । जीविकासम्म चलाउन पुगे त भइहाल्यो नि । सन्तोष भन्दा ठुलो यो जगतमा के छ र ? डर फ्याँक्न सके छु मतलब ! 

पञ्चायती दिनहरूमा सुनौला सपनाहरू बाँड्ने कमिस्टे मुखपत्रहरू छ्यापछ्याप्ती थिए । आफू चैं दुधले नुहाए जस्तो गर्ने तथाकथित प्रगतिशील लेखकहरूले कुमार बस्नेतलाई यौनवादी गायक र स्व. तारानाथ शर्मालाई नारावादी साहित्यकार भनेर दुई पैसे मुखपत्रमा लेख छपाएर खोइरो काढेको हिजो झैं लाग्छ । शत्रु कमाउँछु कसले भन्छ र ? परिबन्दले कमिने रहेछ । टुहुरे, पाख्रिनहरूले कति मिठा गीत गाउँथे; सर्वहाराको जीवन परिवर्तनार्थ । तिनीहरूको सपना/जपना अधुरो भो ।

 सञ्चो नगर्नाले चिनी बहिष्कार्यो; सत्कारीहरूले कर गरि चियाचमेना टक्र्याउने । क्या ! फसाद । मान्छे भन्या सदाबहार हुनुपर्छ; उतारचढावी मनुवाको काम छैन । जे गर्छ पैसोले गर्छ । मार्छ, बचाउँछ । नाता टुटाउँछ, परदेश धसाउँछ ।

एक जना रसियाली काम विशेषले अरबी मुलुकमा पुगेको रहेछ । त्यहाँ रहँदा बस्दा उसले एक जनी मुस्लिम महिलासित मायापिरिम गाँसेर बिहे गरेछ । केही दिनपछि त्यो आईमाई सिन्को जस्तो सुकिछ । स्वास्नी किन सिट्टी भइ भनेर लोग्नेले कारण बुझ्दा त मुसलमानको चलनमा लोग्नेले थालमा छोडेको खानाले (पुरा) भोक मेटाउनु पर्नेमा उसले सिनित्त पारेर खाइदिंदो रहेछ । उसले खान नपाएकोले  दुब्लाउने नै भई । बिहेबारी आफ्नो जात, धर्म र संस्कारमा गर्दा राम्रो ।

मायापिरिम त्यस्तो होस् जसले तडपाओस्  सुकाओस्  । सत्यवान् – सावित्री/ नल – दमयन्तीको मायापिरिम त्यति सस्तो कहाँ थियो र ? आजकल त पिरिमबिहे ज्यास्ती, तीन वर्ष नि नपुग्दै छोडपत्र । नेता इसाई जनता ट्वाँ; गाँडतन्त्र छ भ्रष्टाचार भ्वाँ । को ठिक को बेठिक छुट्याउन सकस । सबै आफू ठिक अरू बेठिक भन्छन् । कसको कुरा पो पत्याउनु ? जे होस्, प्रदेशले संघीयता महँगो भएकै हो – सबैलाई चेतना भया ।

वैदिक सनातन वर्णाश्रम धर्म अनादिकालीन/नितान्त वैज्ञानिक । निर्विवाद सत्य । अर्काको धर्मको निन्दा किन गर्नु छ र ? दुनियाँमा दुई बीस झुसी मुस्लिम राष्ट्र हुनु हुने, तीन बीस निम्ठो ईसाई राष्ट्र हुनु हुने तर एउटा हिन्दु (चलनचल्तीको शब्द) राष्ट्र हुन किन नहुने ? कसले खेल्यो खेल, यसमा भयो झेल । गोरालाई विद्वान ठान्ने रोग कहिले निख्रिने होला ? हाम्लाई त हीनताभासले भित्रभित्रै कुटुकुटु खाँदो । नूतन विचार मरु; पुरातनपन्थी सोच ! अत्यधिकले यहुदीलाई सत्तोसराप गर्ने, उसलाई केही ठाँगेले छोएको होइन ।

आइन्स्टाइनले आफ्नो डुप्लीकेटलाई डाइबर राखेका थिए । एक दिन आइन्स्टाइनले डाइबरलाई भाषण गर्न पठाएछन् । संगत गुनाको फल भने झैं ऊ त भाषण कलामा निपुण भइसकेको रहेछ । उसले आइन्स्टाइन बनेर पूरै अवधिभरि अविराम भाषण दियो । भाषणको समाप्तिपछि प्रश्नोत्तर कार्यक्रममा एक जना सहभागीले उसलाई जटिल प्रश्न सोधेको त उसले प्रत्युत्तरमा यसको जवाफ मेरो डाइबरले दिन्छ भन्देछ । त्यो दिनको डाइबर त स्वयं आइन्स्टाइन नै थिए उन्ले ऊत्तर नदिने कुरा त भएन नि तर प्रश्नकर्ता चैं डाइबर त यस्तो विद्वान रहेछ भने आइन्स्टाइन त झन् कति विद्वान होलान् भनेर उदेकिएछ ।

अर्काको दु:खमा रमाएर खुच्चिङ मार्ने त मान्छेको प्रवृत्ति । स्वानुभूति, सहानुभूति, मानवता, दयामाया, करुणा स्यालको सिङ झैं गायब ! निकृष्ट स्वभावको मनुवा । यो लेख समग्रता हो; व्यक्ति विशेष लक्ष्यित होइन । कोही कोही चोरको गोडा काट भन्दा गोडा झिक्छन् । कति कुरा गर्नु पो हो । जति पोयो बाँटे नि गाँठो एउटै । बाँकीटाँकी अर्को भेटमा । बाउसे सकियो । आजलाई मैजारो । अस्तु !