अमेरिका-रूस शिखर बैठक : वार्ता सकारात्मक तर कुनै सम्झौता भएन, पुटिनले भने- ‘अर्को पटक मस्कोमा’

अमेरिका-रूस शिखर बैठक : वार्ता सकारात्मक तर कुनै सम्झौता भएन, पुटिनले भने- ‘अर्को पटक मस्कोमा’


अमेरिका र रूसबीच २०२५ अगस्ट १५ मा अलास्काको एंकोरेज शहरमा सम्पन्न शिखर बैठकलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अत्यन्तै फलदायी’ भएको बताएका छन्, तर विश्वका दुई शीर्ष नेताको वार्ताबाट युक्रेन-युद्ध समाधानका लागि अपेक्षित ठोस सहमति भने हासिल हुन सकेन ।

लगभग तीन घण्टा लामो वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही महत्वपूर्ण विषयमा सहमति भएको जनाएपनि युद्धविराम वा अन्तिम समाधानसम्बन्धी ठोस निर्णय सार्वजनिक गरिएको थिएन ।

राष्ट्रपति पुटिनले वार्तालाई आपसी सम्मान र रचनात्मक वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै युक्रेनको सुरक्षा सुनिश्चित गर्नु आवश्यक रहेको धारणा राखे । साथै, उनले द्वन्द्वका ‘मूल कारणहरू’ समाधान नगरी स्थायी शान्ति सम्भव नहुने भन्दै युरोपेली मुलुकहरूलाई उक्साउने प्रयास नगर्न आग्रह गरे ।

तथापि, दुबै नेताले संवाद र समझदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रारम्भिक चरणको यो बैठक तत्कालिक उपलब्धिबिना टुंगिएको देखिएको छ।

शुरुको योजना अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच ‘वान-वान’ भेटघाटको लागि थियो, तर अन्तिम समयमा परिवर्तन भयो र वार्ता ‘थ्री-थ्री’ ढाँचामा भयो । अर्थात्, दुई राष्ट्रपतिसँगै टेबलमा दुई/दुई जना प्रमुख सल्लाहकारहरू पनि उपस्थित थिए । अमेरिकी तर्फबाट विदेशमन्त्री मार्को रुबियो र विशेष दूत स्टीव विटकोफ उपस्थित थिए भने रूसबाट विदेशमन्त्री सर्गेई लाभरोभ र विदेश नीति सल्लाहकार युरी उशाकोभ पनि वार्तामा उपस्थित थिए ।

युक्रेनी राष्ट्रपति जेलेन्स्की वा युक्रेनको कुनै पनि प्रतिनिधि यस वार्तामा संलग्न थिएनन्, जबकि छलफलको मुख्य विषयचाहिँ ‘युक्रेन-युद्ध’ थियो ।

तीन घण्टाभन्दा बढी समय चलेको यो बैठकपछि भ्लादिमिर पुटिनले भने कि रूस युक्रेनमा चलिरहेको द्वन्द्व अन्त्य गर्न ‘इमानदारीपूर्वक इच्छुक’ छ । उनले युद्धलाई ‘त्रासदी’ भने तर जोड दिए कि कुनै पनि स्थायी समाधानले पहिले द्वन्द्वको ‘मूल कारणहरू’लाई सम्बोधन गर्नुपर्छ ।

पुटिनले पश्चिमी देशहरू र युक्रेनलाई शान्ति प्रक्रियामा ‘बाधा’ नपुऱ्याउन वा ‘हानी’ नगर्न चेतावनी दिए । आफ्नो टिप्पणीमा, उनले बैठकलाई द्वन्द्व समाधान गर्ने दिशामा ‘सुरुवात बिन्दु’को विशेषण दिए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरे कि दुई ‘धेरै मुद्दाहरूमा सम्झौतामा पुगेका छन्’ तर केही मुद्दाहरू अझै बाँकी छन् । उनले यो पनि भने कि ‘वास्तविक सम्झौता नभएसम्म कुनै सम्झौता हुँदैन ।’ उनका अनुसार, वार्तामा ‘प्रगति’ भएको छ तर अझै सम्झौता भएको छैन । उनले भने, ‘हामी त्यहाँ पुगेका छैनौं ।’

ट्रम्प भन्छन् कि अब उनी नेटो सहयोगीहरू, युरोपेली नेताहरू र सिधै राष्ट्रपति जेलेन्स्कीसँग कुरा गर्नेछन् । कुनै पनि सम्झौताको अन्तिम निर्णय ‘अन्ततः उहाँ (जेलेन्स्की)मा निर्भर गर्दछ ।’

ट्रम्पले संयुक्त वक्तव्यको अन्त्यमा पुटिनलाई धन्यवाद दिँदै ‘भ्लादिमिर’ भनेर सम्बोधन गरे । उनले भने, ‘हामी तपाईंसँग चाँडै कुरा गर्नेछौं र सायद चाँडै फेरि भेट्नेछौं ।’

यसको जवाफमा पुटिनले अंग्रेजीमा जवाफ दिए, ‘अर्को पटक मस्कोमा ।’