✍ हिमोढ पहाडी
यो गणतन्त्रले
सिंंहदरबारमा पालेको
उन्मत्त त्यही साँढे
जसले सार्वभौम हामीहरुको
रगत र पसिनाको राजस्वबाट
अर्जित करले वर्षौंदेखि
हातमुख जोरिरहेको छ
उसले सत्ताको उन्मादले
अहिले हाम्रो फोन ट्यापिङको
कानुन बनाउन अग्रसर छ ।
ए सार्वभौम मुर्दाहरु हो !
यतिबेला तिमी मौन बस्यौ भने
एकदिन उसले
तीन सन्तान जन्माउने उर्दी सम्झाउँदै
हरेक दम्पतीहरुको कोठाहरुमा
सिसिटिभी जडान गरेर
प्रगति विवरण संकलनका नाममा
सिंहदरबार वा बालुवाटारमा बसेर
तमासा हेरिहनेछ ।
यही बेला
उसको अध्यादेशमा लालमोहर लगाउने
त्यही शितलनिवासको
अन्तरंंग खेल हेरेर
सिंहदरबार अघि उभिएर
तिमी ताली बजाइ रहनु
किनकि त्यसपछि
त्यही सिसिटिभिले
तिम्रो हरेक हर्कतको भिडियोहरु
नेपाल टेलिभिजनबाट प्रसारित गरिरहनेछ ।
- दाङ (हाल : पोर्चुगल)
प्रतिक्रिया