(ब्यङ्ग्यात्मक निबन्ध)
पिठोको डल्लोभित्र लुकाएको मासुको स्वाद लिएजस्तै के-केको डल्लोमा लुकाएर विकाशे योजना, ठेक्का-पट्टादेखि देशको बजेट नै मेलम्ची र बागमतीको झोलमा सर्लप्प खान पल्केकाहरूले तारेहोटलको मोमो पनि कहिलेकहीँ नमिठो लाग्ने गुनासो गर्छन् । मोमोको डल्लो सेतो भए पनि एअरपोर्ट तिर पाइने पहेँलो रंगको मोमो मासुको मोमोभन्दा मिठो हुने कुरा सुनिन्छ राजधानीतिर !
✍ उमेश रेग्मी
मोमोलाई नेपालीहरूको प्रिय ‘नेसनल फास्ट फूड’ भन्दा अत्युक्ति नहोला । त्यसैले त भनिन्छ नि, ‘मोमो खाएको छैन भने त जिन्दगी अधुरै छ ।’ यो वाक्य सुन्दा हामीलाई अलिक बढ्ता लाग्न सक्छ, तर नेपालीहरूको ‘मोमो’प्रतिको मोह हेर्दा यो सत्य भन्दा धेरै पर छैन । नेपालमा मोमो भनेको केवल एक परिकारमात्र होइन, यो त हाम्रो भावनाको एउटा विशेष हिस्सा नै हो । साँच्चै भन्नुपर्दा, मोमोले नेपालमा मात्र होइन, नेपालीहरूको पेट र हृदयमा पनि शासन गरेको छ । बिहानको खाजादेखि बेलुकाको डिनरसम्म, चिसो जाडोयामदेखि तातो गर्मीयामसम्म, मोमो सबै मौसम र सबै समयको लागि सान्दर्भिक छ । तर, सोच्नुपर्ने कुरा के छ भने, यो सानो पोटिलो परिकारले हाम्रो जीवनमा यति ठूलो स्थान कसरी ओगट्न सकेको होला ?
यो प्रश्न पाठकहरूलाई नै छोडेर एकैछिन मोमो विज्ञानतिर लागौँ । मलाई त मोमो एउटा ठुलो वैज्ञानिक आविष्कार झैँ लाग्छ ।
पहिला त मोमो बनाउनु नै एउटा ठूलो विज्ञान हो । मोमो बनाउने प्रक्रिया, यसमा लाग्ने परिकार, अनि यसको विभिन्न रूप र स्वाद तयार गर्न भान्सामा वैज्ञानिक शोध नै भइरहेको हुन्छ हर दिन, हर क्षण । चिल्लो मैदाको पातलो पत्रमा मासु (वा तरकारी) को भर्नेक्रम, त्यसलाई कलात्मक तवरले मोड्ने सीप, अनि सटिक रूपमा पकाउने तापक्रम ! नेपाली समाजले जुन लगनशीलताका साथ मोमो बनाउन सिकेको छ, यदि त्यस्तै लगन अन्य काममा लगाएको भए सायद चन्द्रमामा नेपालीको झण्डा गडिसकेको हुनेथियो ।
हुन त नेपालीको लगन आफ्नो भुँडी भर्नेबाहेक अन्य कुरामा किन लाग्थ्यो र त्यो पनि मोमो अगाडि देखेपछि । भुँडी भर्ने क्रममा मोमो मात्रले नपुगेर कोही जे हात लाग्छ त्यही खाइदिन्छन् । भुँडी बढाउन पल्केका यी भुँडीवाजहरूलाई यतिले मात्र के पुग्थ्यो, उनीहरू त कम्बोडिया लगायतका देशमा लगानी गर्दै मोमोखेति बढाउनुपर्छ भन्छन् । उनीहरूको सल्लाह मान्दै आफ्नो खेतबारी छोडेर खाडीसहित अन्य देशहरूमा गएर मोमो बेच्दै नेपालको शान बढाएका नेपालीहरू देखिनु आजभोलि नौलो कुरा होइन ।
यसैको प्रतिफल धनी-गरिब, ग्रामीण-शहरी, सबैको मिठो परिकार बनेको यो मोमो पाँचतारे होटलदेखि सडक छेउको चाइनिज स्टलसम्म राज गर्न सक्षम बनेको छ ।
तर, कहिलेकाहीं सोच्नुहुन्छ तपाईं, सडकमा पचास रुपैयाँको मोमो र तारे होटलको पाँच सय रुपैयाँको मोमोमा फरक के छ ?
स्वाद ? सेवा ? वातावरण ?
होइन ! फरक त केवल प्लेट हो । तारे होटलमा प्लेट चिप्लो छ, अनि सडकमा प्लेट प्लास्टिकको । मोमोको रूप उही, स्वाद उही, रंग उही अनि पकाउने प्रविधि र तापक्रम उही । अर्को फरक भनेको खाने मान्छेहरू । तारे होटलमा खाने मान्छेहरूले मोमोमात्र नखाएर देशै पनि खान सक्ने हैसियत राख्छन् भने सडकको पेटीमा बसेर खानेले एक प्लेट खाएपछि अर्को प्लेट खान कहिलेकहीँ हप्तौँ कुर्नुपर्ने हुन्छ । पिठोको डल्लो भित्र लुकाएको मासुको स्वाद लिएजस्तै के-केको डल्लोमा लुकाएर विकाशे योजना, ठेक्का-पट्टादेखि देशको बजेट नै मेलम्ची र बागमतीको झोलमा सर्लप्प खान पल्केकाहरूले तारे होटलको मोमो पनि कहिलेकहीँ नमिठो लाग्ने गुनासो गर्छन् । मोमोको डल्लो सेतो भए पनि एअरपोर्ट तिर पाइने पहेँलो रंगको मोमो मासुको मोमोभन्दा मिठो हुने कुरा सुनिन्छ राजधानीतिर, अनि त्यहिबेला सडकमा बिक्री हुँदै गरेको मोमोभित्र खै के जनावरको मासु हालेको समाचारले मोमोप्रति नै शंका पैदा गरिदिन्छ । यस्तो शंका निवारणका लागि घरमा नै मोमो बनाउनुपर्ने राय दिन्छन् मोमोका पारखीहरू ।
उनीहरू भन्छन्, ‘मोमो घरमा बनाएको जस्तो बाहिर पाइँदैन अनि यसको चटनी त घरको जस्तो के होस्, च्वाट्ट र ट्वाक्क !’
चटनी अर्थात् मोमोको आत्मा । अब एकैछिन यसको चर्चा गरौँ ।
मोमोको सफलता केवल मोमोकै कारण होइन, यसको आधा श्रेय त त्यससँग आउने जादुमयी चटनीलाई जान्छ । पिज्जा र पास्ताले ओगटेको हाम्रो समाजमा परिकारहरूको भण्डार ठुलै छ । तर पनि मोमो पृथक छ, मिठो छ, स्वादिलो छ अनि चटनीमय छ । बिनाचटनी मोमो अधुरो छ । चटनीबिनाको मोमो खाँदा यस्तो लाग्छ, जस्तो ससुराली गएकी दुलही माइतीलाई सम्झिएर रोइरहेकी होस् । अनि चटनी विविधतायुक्त पनि छ । कतै जलेको खुर्सानीको चटनी, कतै बेसारपानी मिसाएको चटनी ! अनि ठुलाबडाहरूलाई मेलम्ची र बागमतीको पानीमा अलिकति डलर, अलिकति पाउण्ड अनि अलिकति युरोको मसला हालेर बनेको चटनी असाध्यै मन पर्ने कुरा ‘मोमो अध्ययन’ले प्रस्ट्याएको छ ।
मोमोमा राजनीति पनि छ, त्यो हो- ‘मासु’ भर्सेज ‘तरकारी’ ! अर्थात् मासुको मोमो भर्सेज तरकारीको मोमो ।
मोमोको अर्को रमाइलो पक्ष भनेको यसको ‘मासु बनाम तरकारी’ द्वन्द्व हो । मासु-मोमोका पारखीहरू भन्छन्, ‘तरकारी मोमो भनेको अपमान हो ।’ तर तरकारी-मोमोप्रेमीहरू पनि कम तर्कशास्त्री छैनन् । उनीहरूको कथन छ, ‘मासु-मोमो खाने हो भने जे जस्तो मासु पाए पनि खान्छु भन्ने आँट हुनुपर्छ । किनभने, आजभोलि मोमोको डल्लोभित्र के को मासु हुन्छ थाहा नै पाइँदैन ।’ यो बहसले मोमोप्रतिको प्रेम अझ रोचक बनाउँछ ।
यसैक्रममा मोमोलाई अझै रोचक, रसिलो र स्वादले भरिपूर्ण बनाउन देशका प्रधानमन्त्रीले विदेशी उपहारमा राँगो र भैंसी पाएको समाचारले मोमो र नेपालीको सम्बन्धलाइ प्रगाढ पारेको कुरा बिर्सिन मिल्दैन ।
मोमोको अर्को विशेषता भनेको यसको स्वादमा माया साटासाट गर्नु पनि हो ।
नेपालमा भेटघाटको निम्तो दिने सबैभन्दा सजिलो तरीका भनेकै ‘मोमो खाऔँ’ भन्नु हो । युवाहरूको प्रेम प्रस्तावदेखि कामको मिटिङसम्म, मोमो कुनै पनि प्रसङ्गको ‘नन-अफेन्सिभ’ बहाना हो । मोमो खाँदै थुप्रै प्रेमकथा सुरु भएका छन्, थुप्रै मित्रताहरू गाढा भएका छन् । मोमो नेपाली समाजमा पुलको काम गर्छ- जात, धर्म, क्षेत्र, उमेर कुनै पनि अवरोधलाई बेवास्ता गर्दै । यस्तो अलौकिक खाना पाएकोमा हामीले गर्व गर्नुपर्छ । अनि धन्यवाद दिनुपर्छ यस्तो महान् खानाको आविस्कारकलाई । यी आविस्कारकलाई ‘ॐ मोमोए नमः’ भन्दै स्तुति गान गर्दा अत्युक्ति नहोला ।
निष्कर्ष : मोमो एउटा संस्कार
मोमो अब केवल खाना होइन, यो हाम्रो संस्कार हो । यो नेपालीहरूको पहिचान हो । नेपालमा यदि कुनै दिन मोमोको अभाव भयो भने, त्यो दिन सामाजिक आन्दोलन नै हुन सक्छ । ‘मोमो क्रान्ति’को सम्भावनालाइ नकार्न मिल्दैन ।
त्यसैले, अर्को पटक जब तपाईं मोमो खानुहुन्छ, केवल खाने मात्र होइन, त्यसको मूल्य बुझ्नुहोस् । मोमो तपाईंको जिन्दगीको एक अभिन्न हिस्सा हो । यो कुरा जब बुझ्नुहुन्छ, तपाईं पनि भन्नुहुन्छ- ‘ॐ मोमोए नमः’ !
प्रतिक्रिया