सीमा विवादाका कारण पदबाट निलम्बित थाई प्रधानमन्त्री सिनावात्रा अदालतमा

सीमा विवादाका कारण पदबाट निलम्बित थाई प्रधानमन्त्री सिनावात्रा अदालतमा


थाइल्यान्डकी निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले कम्बोडियासँगको सीमा विवाद व्यवस्थापन गर्ने क्रममा पदबाट हटाउन माग गरिएको मुद्दामा बिहीबार (२१ अगस्त) अदालतमा बयान दिएकी छन् ।

विवादास्पद तर प्रभावशाली अर्बपति पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पेटोङटार्नलाई कम्बोडियाका पूर्वनेता हुन सेनसँगको फोनवार्तामा देशको पक्षमा दृढ रूपमा नउभिएको आरोप लगाइएको छ । उक्त अडियो अनलाइन चुहिएपछि उनको आलोचना भएको हो ।

गत वर्ष नैतिक कारण देखाउँदै उनका पूर्ववर्तीलाई प्रधानमन्त्री पदबाट हटाएको संवैधानिक अदालतले अर्को शुक्रबार पेटोङटार्नलाई पदबाट हटाउनुपर्ने कि नपर्ने भन्ने निर्णय गर्नेछ । अदालतले गत महिना उनलाई पदबाट निलम्बन गरिसकेको थियो र बिहीबार उनको ३९औँ जन्मदिनकै दिन मुद्दामा प्रश्नहरूको जवाफ दिन बोलाएको थियो ।

कालो व्यापारिक सुटमा मुस्कुराउँदै उनले पत्रकारहरूलाई अभिवादन गर्नुभयो र आफ्नो शीर्ष सल्लाहकार प्रोमिन लर्टसुरिदेजसँग बैङ्ककको अदालतमा पुग्नुभएको थियो । उनले करिब डेढ घन्टासम्म न्यायाधीशहरूको प्रश्नको जवाफ दिइन्, तर अदालतले सुनुवाइका विवरण सार्वजनिक गर्न निषेधाज्ञा जारी गरेको छ ।

यो मुद्दा कम्बोडियाका लामो समयका शासक तथा हालका प्रधानमन्त्रीका पिता हुन सेनसँगको जुनमा भएको फोनवार्तामा केन्द्रित छ । सो फोनवार्ता विवादित सीमा क्षेत्रमा भएको तत्कालीन तनावबारे थियो । फोनवार्तामा पेटोङटार्नले हुन सेनलाई ‘काका’ भनी सम्बोधन गरेकी थिइन् र एक थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेकी थिइन् । यसले थाइल्यान्डमा व्यापक प्रतिक्रिया निम्त्याएको थियो ।

रूढिवादी सांसदहरूले उनलाई कम्बोडियाको पक्ष लिएको र थाइल्यान्डको शक्तिशाली संस्था-सेनालाई कमजोर पारेको आरोप लगाए । फोनवार्ता चुहिएपछि पेटोङटार्नको सत्तारूढ गठबन्धनको मुख्य साझेदारले विरोध स्वरूप सरकार छोड्दा उनको सरकार लगभग ढल्ने स्थितिमा पुगेको थियो ।

सिनेटरहरूको समूहले मन्त्रीहरूको आचरणमा ‘स्पष्ट अखण्डता’ र ‘नैतिक मापदण्ड’ आवश्यक पर्ने संवैधानिक प्रावधान उल्लङ्घन भएको भन्दै अदालतमा मुद्दा दर्ता गरेका थिए ।

पेटोङटार्नलाई निलम्बन गरेपछि कार्यवाहक प्रधानमन्त्री फुमथम वेचाचाइले भनेका छन्, ‘मलाई लाग्छ उहाँले राम्रो विश्वासका साथ काम गर्नुभएको थियो । देशको सुरक्षामा कुनै असर परेको थिएन, बरु थाइल्यान्डलाई द्वन्द्वबाट टाढा राख्ने उहाँको अभिप्राय थियो ।’

तर यो घटनाले थाई-कम्बोडियन सम्बन्धलाई सङ्कटमा पुर्‍यायो । हुन सेनले सो फोनवार्ता पूर्ण रूपमा अनलाइनमा सार्वजनिक गरेपछि सीमा विवाद चर्कियो र दशकौँयता भएको सबैभन्दा घातक भिडन्तमा परिणत भयो । यस द्वन्द्वमा ४० भन्दा बढी मानिसको मृत्यु भयो र करिब तीन लाख मानिसले घरबार छोड्नुपर्‍यो ।

यदि अदालतले उनको विपक्षमा फैसला गर्‍यो भने पेटोङटार्न आफ्ना पिता थाक्सिन र काकी यिङलकपछि प्रधानमन्त्री पद गुमाउने तेस्रो सिनावात्रा बन्नेछिन् । थाक्सिन र यिङलक दुवैलाई सैन्य कूमार्फत हटाइएको थियो ।