पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन गर्नुभएको छ । मदन भण्डारी फाउण्डेशनले आज (५ भदौ) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले उक्त कार्यालयको उद्घाटन गर्नुभएको हो ।
पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारीले अघि सार्नुभएको जनताको बहुदलीय जनवाद (जबज)का विषयमा टोलटोलमा जानकारी गराउन जन्मजयन्ती मनाउने निर्णय भएअनुसार कार्यालय स्थापना गरिएको बताउनुभयो । सो अवसरमा उहाँले आफूले राष्ट्रपति भएर नेपालको गौरव बढ्ने गरी काम गरेको जिकिर गर्नुभयो। देशको राष्ट्रपतिले गर्नुपर्ने भूमिका मर्यादित ढङ्गले राम्रोसँग राष्ट्रको गौरव बढ्ने गरी काम गरेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले आफू राष्ट्रपति भएको बेला गरेका काम इतिहासको पानामा खुला रहेको धारणा राख्नुभयो । उहाँले आफू नेपाल कम्युनिष्ट पार्टी (एमाले)कै कार्यकर्ता भएर संघर्षरत रहने इच्छा व्यक्त गर्नुभयो ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मदन भण्डारीका विचार र योगदानको भूमिकालाई मुलुकभरि पुऱ्याउन कार्यालय स्थापना गरिएको बताउनुभयो । उहाँले मदन भण्डारीका विचार र योगदानलाई चिरस्थायी बनाउन फाउण्डेशन गठन भएको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन मदनका विचार अग्रणी रहेको बताउनुभयो । उहाँले मदनका विचारलाई जनजन र पार्टीपंक्तिमा पुऱ्याउन आवश्यक रहेको बताउनुभयो । मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) प्रतिकूलता, अप्ठ्यारो र चुनौतीसँग जुधेर अगाडि बढेको वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ थियो ।
‘जबजको विचार शान्त तलाउमा डुङ्गा चलाए जस्तो सलल अघि बढेको होइन । यो विचार प्रतिकूलतासँग जुधेर अप्ठ्यारा र चुनौतीसँग जुधेर अघि बढेको हो’, उहाँले भन्नुभयो- ‘यो आँधी तुफानसँग जुध्दै, प्रतिकूलतालाई पराजित गर्दै स्थापित भएको विचार हो । जसमा मदनले अगुवाइ गर्नुभयो ।’
फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले मदन भण्डारीको ७५औँ जन्मजयन्तीलाई व्यवस्थित तरिकाले मनाउन कार्यालय स्थापना गरिएको बताउनुभयो । उहाँका अनुसार जन्मजयन्ती २०८२ र २०८३ साल भरि विचार गोष्ठी, छलफल तथा अन्तरक्रिया, कविता, बादविवाद प्रतियोगिता, हाजिरीजवाफ, खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, पुस्तक प्रदर्शनीलगायतका क्रियाकलाप गरी देशभरि नै मनाइने छ ।
कार्यक्रममा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीलगायतको सहभागिता रहेको थियो । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ ।
प्रतिक्रिया