कोरिया पठाइदिने भन्दै एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

कोरिया पठाइदिने भन्दै एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ


वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु एक करोड आठ लाख ३० हजार ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी प्रहरीले बिहीबार (५ भदौ) सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-१ नक्सालबस्ने ३८ वर्षीय साहारा सुब्बा (थेवे) रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएका छन् ।

दीपक थापालगायतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी साहारा सुब्बा (थेवे) भएको वैदेशिक रोजगार ठगीसम्बन्धी कसूर मुद्दामा वैदेशिक रोजगार विभाग ताहाचलबाट पक्राउ गरी उपस्थित गराइदिने पत्र प्राप्त भएपछि निजलाई ललितपुर हरिसिद्धिबाट पक्राउ गरिएको जनाइएको छ ।

पक्राउ परेका निज सुब्बा (थेवे)लाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताएका छन् ।