गाजामा इजरायलले खाद्य संकट निम्त्याएको आरोपसहित संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

गाजामा इजरायलले खाद्य संकट निम्त्याएको आरोपसहित संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त


गाजामा खाद्य संकट गहिरिँदै जाँदा संयुक्त राष्ट्रसंघको शरणार्थी सहायता निकायले चिन्ता व्यक्त गर्दै यो अवस्था मानवनिर्मित भएको संकेत गरेको छ ।

शरणार्थीका लागि कार्यरत संयुक्त राष्ट्रसंघीय निकाय (यूएनआरडब्लुए)का आयुक्त फिलिप लाजरिनीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गाजा शहरमा भोकमरीको अवस्था पुष्टि भइसकेको जनाउँदै यसलाई रोकथाम गर्न सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

‘हामीले पटक-पटक चेतावनी दिएका थियौं । अहिले स्थिति गम्भीर छ र यसलाई मानव निर्मित संकटको रूपमा हेर्न सकिन्छ’- उनले सोसियल मिडियामा लेखेका छन् । लाजरिनीका अनुसार गाजामा आधारभूत राहत सामग्री लामो समयदेखि पर्याप्त रूपमा आपूर्ति हुन सकेको छैन ।

खाद्य सुरक्षासम्बन्धी चरणगत मूल्यांकन गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूको समूहले हालै प्रकाशित प्रतिवेदनमा गाजा सहरसहितको क्षेत्रमा भोकमरी पुष्टि भएको जनाएको छ । सो प्रतिवेदनमा देइर अल-बलाह र खान युनिस क्षेत्रमा पनि संकट फैलन सक्ने चेतावनी दिइएको छ ।

प्रतिवेदनअनुसार अगस्त महिनाको अन्त्यसम्म करिब ६ लाख ४० हजार मानिस गम्भीर खाद्य अभावको स्थितिमा पुग्न सक्नेछन र ११ लाखभन्दा बढी व्यक्तिहरू आपतकालीन खाद्य असुरक्षाको अवस्थामा रहने अनुमान गरिएको छ ।

लाजरिनीले संकटको थप विस्तार रोक्नका लागि तुरुन्त युद्धविराम र निर्वाध मानवीय सहायता आपूर्तिको आवश्यकता रहेको उल्लेख गरेका छन् ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले भने उक्त आरोपलाई अस्वीकार गर्दै गाजामा भोकमरी फैलाउने कुनै नीति नरहेको स्पष्ट पारेको छ । इजरायलले आफूले ‘भोकमरी रोक्ने नीति’ अपनाएको र सहायता आपूर्तिमा सन्तुलन कायम गर्न प्रयासरत रहेको जनाएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुपोषण र भोकका कारण २७३ जनाको निधन भइसकेको छ, जसमा ११२ बालबालिका रहेका छन् ।

सन् २०२५ मार्च २ मा युद्धविराम समाप्त भएपछि गाजामा राहत सामग्रीको आपूर्ति उल्लेखनीय रूपमा घटेको जनाइएको छ ।