प्रहरी प्रधान कार्यालय (नक्साल)को १ नम्बर गणमा कार्यरत प्रहरी निरीक्षक दिनेश गुरुङ गत मंगलबार (३ भदौ)देखि जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा छन् । डिभोर्स भइसकेकी पत्नीको उजुरीका आधारमा पक्राउ परेका इन्सपेक्टर गुरुङमाथि जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योगको मुद्धा लगाइएको छ ।
महिलाले पुरुषमाथि आरोप लगाएपछि त्यस्तो मामलालाई अलिक गम्भीर रूपले लिने र कारवाही प्रक्रिया अघि बढाइने गरेको पाइन्छ । सिद्धान्ततः यसलाई सकारात्मक नै मान्न सकिन्छ, किनकि नेपाली समाजमा महिलामाथि थिचोमिचो र घरेलु हिंसा आम समस्याकै रूपमा रहँदै आएको छ । तथापि, पछिल्लो समय यसप्रकारको परम्परागत प्रवृत्तिमा किनै कमी आएको समाजशास्त्रीहरूको कथन छ । जुन रूपमा महिलामाथि हिंसा भएका प्रकरणहरू सार्वजनिक हुनेगरेका छन्, त्यसमा यथार्थ भन्दा ज्यादा बढाइचढाइ गर्ने गरेको पाइन्छ । इन्सपेक्टर दिनेश गुरुङको सन्दर्भमा पनि घटनालाई अतिरन्जित गरेर एउटा होनहार प्रहरी अधिकृतको करिअरमाथि नै खेलबाड गर्न खोजिएको सङ्केत मिल्दछ ।
इन्सपेक्टर गुरुङ र उनकी पूर्वपत्नीलाई नजिकबाट चिन्ने/जान्नेहरू गुरुङ नै पत्नीबाट पीडित रहँदै आएको बताउँछन् । डिभोर्सपछि पनि पूर्वपतिलाई सताउने, भेटेको बेला हातपात गर्ने र मौका मिलेसम्म बदनाम गरी तहसनहस तुल्याउन उनी हातधोएर लागिपरेकी छन् । यस्तै मौकाको पर्खाइमा रहेकी पूर्वपत्नीले सुनियोजित रूपमा पूर्वपति गुरुङलाई गम्भीर आरोप लगाएर प्रहरी हिरासतसम्म पुऱ्याउन सफल भएकी हुन् ।
भरपर्दो सुत्रका अनुसार गुरुङकी पूर्वपत्नी माओवादी पार्टीसम्बद्ध पात्र हुन् । उनको पारिवारिक पृष्ठभूमि नै माओवादी राजनीतिसँग जोडिएको छ । पूर्वपतिलाई दुःख दिन पनि उनले आफ्नो राजनीतिक पहुँच र पावरको दुरुपयोग गरेकी छन् । घटनाबारे मिडियाबाजी हुनुमा पनि यही ‘फ्याक्टर’ले काम गरेको बताइन्छ । पारपाचुके गरिसकेपछि स्वतन्त्र ढङ्गले बाँच्न पाउने अधिकारको दुरुपयोग गर्दै उनले अन्ततः पूर्वपतिलाई प्रहरी हिरासतसम्म पुऱ्याउन सफल भएको गुरुङ परिवारको भनाइ छ । बताइएअनुसार यसअघि गुरुङकी पूर्वपत्नीले इन्सपेक्टर दिनेश गुरुङ कार्यरत १ नं. गणमै पुगेर एक डिएसपी र दुई जना इन्सपेक्क्टरकै सामुन्ने पूर्वपति गुरुङमाथि हातपात गरेकी थिइन् ।
पछिल्लो घटनाका सन्दर्भमा इन्सपेक्टर गुरुङले पूर्वपत्नीका साथ रहेकी छोरीलाई भेट्न जाँदा आफूमाथि अभद्र व्यवहार भएपछि प्रतिकार गरेको प्रष्टिकरण दिएका छन् । पूर्वपत्नीबाट आफू नै पीडित रहेको उल्लेख गर्दै उनले थुनामा पर्नुअघि फेसबुक पेजमा लेखेका छन्- ‘आफ्नो साथमा रहेकी छोरीलाई साँझको समय भएकोले उनी बस्ने घरसम्म पुऱ्याउन गएको थिएँ । घरको ‘कम्पाउण्ड गेट’बाहिर ठुली छोरीलाई बोलाएर बहिनीलाई भित्र लिएर जाउ भनेँ, यत्तिकैमा भित्रबाट छोरो दौडिँदै आयो, मैले आँगालोमा राखेँ । केही समयपछि ठुली छोरीलाई ‘भाइलाई लिएर भित्र जाउ’ भनेँ, तर छोरीले भाइलाई भित्रसम्म छोडिदिनु भनिन् । मैले भनेँ- म भित्र आउँदिनँ, तिम्रो मम्मीले तरकारी पुऱ्याउन जाँदा त भिडियो बनाएर सार्वजनिक गरिन् भने अहिले फेरि समस्या हुन्छ !’ त्यसपछि छोरीले भनिन्- ‘भाइलाई ढोकासम्म मात्र पुऱ्याइदिनु, केही हुँदैन.. आज त म छु नि.. !’ छोरीले त्यसो भनेपछि मैले छोरोलाई उनिहरू बस्ने फ्ल्याटको ढोकाबाहिरसम्म पुऱ्याइदिएँ । त्यति नै बेला सुभद्राले ‘ओइ गुरुङ.. तैँले मेरो बदनाम गर्दै हिँडेको छस्… यहाँ बस्’ भनिन् । मैले ढोकाबाट नै ‘छोरी म गएँ है..’ भनेँ र हिँड्न थालेँ । अनि सुभद्राले ममाथि झम्टिएर कुटपिट गर्न सुरु गरिन् । म बाहिर निस्कन कम्पाउण्डको गेटसम्म आएँ, त्यहाँसम्म पनि निरन्तर कुटाइ खाएँ । गेटबाहिर निस्कन सकिनँ र आफूलाई बचाउन एक झापड हिर्काएको हुँ । त्यसपछि म त्यहाँबाट निस्किएको हुँ । ममाथि हातपात गर्दा भित्ता वा गेटमा ठोक्किएर सुभद्राको निधारमा चोट लागेको हुनुपर्छ । सम्बन्धबिच्छेद भएपछि सुभद्राले ममाथी हातपात गरेको यो दोस्रो पटक हो । पहिलो पटक मेरो अफिस १ न. गणमा डिएसपी र दुई जना इन्स्पेक्टरको अगाडि नै ममाथि हातपात भएको थियो । तर अहिले तथ्यलाई बङ्ग्याएर सामाजिक सञ्जाल र केही मिडियाले ममाथि गरेको अन्यायको तथ्य बुझ्दा उनिहरूलाई नै गल्ती गरेको महसूस होला या नहोला, उनै जानुन् । अर्को कुरा, उपयुक्त अवसर खोजेर मेरो भविष्य समाप्त गर्न खोज्ने सुभद्रा दाहाललाई पनि समयले आफैं जवाफ फर्काउला । सम्पूर्ण घटनाको प्रत्यक्षदर्शी मेरो ठुली छोरीले आज सत्य बोले पनि नबोले पनि जीवनको कुनै कालखण्डमा उनलाई ग्लानी होला । एउटा षड्यन्त्रले सम्पूर्ण जीवन सकिँदैन । म फेरि अगाडि बढ्नेछु ।…’
प्रतिक्रिया