लर्ड मेकालेले भारतलाई सांस्कृतिक रुपले ध्वस्त पारे झैं हाम्रोमा नि विदेशी लठैतले भाषा, धर्म, रीतिरिवाज र संस्कृतिमा प्रहार गर्दो । राजनेता भएका भए थेग्ने थिए होलान् । यहाँ त नेता रोदन गर्दो । उपायनास्ति भएसि कसको के लाग्छ र ?
✍ बलराम उपाध्याय सिलवाल
श्री गणेशाय नम : । श्री सरस्वतै नमोनम : । मूर्ख/दुर्जनको मति-गति जहाँ रहे नि अपरिवर्तनीय । यिनको विषयमा ठेली नै लेखियो; रुपान्तरणको आभास छैन । कुमान्छेले कुपन्छी खायो; कुकाठले घर बनायो । कलियुगमा सोझो हुनु ननिको । बञ्चरे सोझो रुख काट्दो । सादा जीवन उच्च विचार अतीतको गीत भो । रणबहादुर शाहको पालादेखिको विदेशी हस्तक्षेप अद्यावधि जारी । राजा भन्नु त पृथ्वीनारायण र महेन्द्र मात्र । ढुङ्गोले हान्नेलाई नौनीले हैन; ढुङ्गैले जवाफ फर्काउनुपर्छ । गुहु र गोबर छुट्याउन नसक्ने अशक्त भेजावालहरू । पापको डर छैन; नर्कमा जाकिंदो ।
हलेदो भनेसि कोट्याउँनु परेन; अगतिलोलाई त्यागे भैगो । अन्धानुकरणले हाम्रो स्वपनको सर्वनाश । के तालगाँठी नमिलेर हो; उपरनेताले मुलुक बेच्न नसक्या । अरु बाँकी त के छ र ? दुरदृष्टि मरु; आधुनिक सामन्त सनकले देश चलाउँदो – नतीजा शून्य । स्वपहिचान नभएको डाम्नो ओरालो लाग्दो । छ्यानब्यान किन चाहियो ? ढाढिन पाए पुग्यो । भ्रष्टाचारी/ बलात्कारी/परस्त्रीगमकहरू पार्टीको ओतमा दण्डहीन हुँदै साँढे झैं डुल्दा । हिटलरको गल्तीले ‘सबै जर्मनेलीहरू एकै हुन्’को धारणा बन्छ, परन्तु त्यस्तो होइन । जाती र नजाती सबै जातजातिमा हुन्छ नै तसर्थ सबैलाई एउटै डालोमा हाल्नु हुन्न । भारत विभाजनताका (सन् १९४७) आफ-आफ्नो पकड भएको ठाउँमा हिन्दूले मुसलमान सिध्याए; मुसलमानले हिन्दू सिध्याए । Might is right !
शहरभरि घुम्दा मित्रु भेटिन्न; शत्रु चैं चोक चोकमा भेटिन्छ बा । मित्र भनाउँदोले अप्ठेरो पारेसि साथीभाइ भन्ने शब्द नै बिर्सिने पो रहेछ । स्वार्थ बाझेर गाढा साथीत्व टुट्ने भएसि सबैसित समदुरी सम्बन्ध राखे भैगो नि । बिरामी हुँदा भेटेर वा खुवाएर आफ्नो हुन्छ भन्ने वाहियात तर्क । नास्तिकताको साम्राज्य । कोही कोही मान्छे हिँड्दावर्दा ज्यानमाराले झैं शिर निहुराउँदो । नडराउनु नबिराउनु । न हराम न विराम – किन शिर निहुराउनुपरो र ?
२०४० सालताका कुपण्डोलका पौडेलले रोचक घटना सुनाए । उनको अन्सार उनी हनुमानथानमा पूजाआजा गर्न जाँदाओर्दा एक जना नास्तिक केटोले भगवान देखिन्न किन पूजा गर्नुपरो भन्दै हत्तु पारेछ । उनले बाबु, चिलगाडी उडेको देखिन्छ; पाइलट देखिन्न । अनि पाइलटले चिलगाडी उडाएको छैन भन्न मिल्छ र ? चिलगाडीभित्र पाइलट छ भनेर विश्वास गर्नुपर्छ नि । भगवान नि पाइलट झैं अदृश्य हुनुहुन्छ – विश्व ब्रह्माण्ड हाँक्नु भ’को छ । यत्ति भन्दा नि उसको चित्त बुझेन रे; उही प्रश्न दोहोऱ्याइ तेहऱ्याइ रह्यो रे । आखिरमा पौडेललाई झोक चलेसि उनले तेरी आमासित तेरो बाउ बसेको देखेको छस् र ? तेरी आमाले यो तेरो बाउ भन्देकोले तैले बाउ भन्दैछस् । त्यो मान्छे तेरो बाउ नभएर अर्को मान्छे नि त तेरो बाउ हुनसक्छ । आमा सत्य बाउ विश्वास हो भन्देसि त्यो केटो आस्तिक भयो रे भन्थे पौडेलले ।
आफ्नो थानमानमा नरहेसि कसैले केही भन्छ कि को डर । मत्वाली ब्राह्मणवाद भो भनेर चिच्याउँदो; ब्राह्मणमा ब्राह्मणवाद नभएर कुसुण्डावाद हुन्छ त ? विश्लेषण गर्न सक्नु छैन; हावादारी कुरो गर्दो । जीवन कति महत्वपूर्ण/गहन छ भन्ने त फोसा/अपहत्तेकारीहरूलाई के थाहा ? ८४ को चुनाउसम्ममा पुराना दलहरूको विकल्पमा नयाँ सक्षम दल उदाउला कि नउदाउला ?
एकदिन अकबर र बीरबल चोकतिर जाँदै गर्दा एक जनी कुरुप स्त्रीले बच्चीलाई स्तनपान गराएकी देखेसि यस्तीलाई पत्नीवत् रुपमा स्वीकार्ने कुन पुरुष होला भन्ने कौतुहलता जागेछ । तत्कालै वाक्पटु बीरबलले त्यो पुरुष पत्तो लगाउने निधो गरे । ठुली साँझ । उनीहरू त्यहाँ केहीबेर लुकेर बस्दै गर्दा एक जना पट्ठो आयो । उसले फोहोर ठाउँबाट चुना निकाली सुर्तीसित मलेर खायो । यस्तो फोहोर ठाउँको चुना खाएसि यो मान्छे नै त्यो स्त्रीको खसम हो भन्ने बीरबललाई लागेसि उनले अकबरको साम्नेमा उसलाई केरकार गरे । अनुमान सही निस्क्यो । अकबरले बीरबलको बुद्धिमत्ताको खुलेर प्रशंसा गर्दै एक लाख नगद पुरस्कार टक्र्याए । जो जस्तो छ उसले त्यस्तै व्यवहार देखाउँछ भन्ने दृष्टान्त हो यो ।
लर्ड मेकालेले भारतलाई सांस्कृतिक रुपले ध्वस्त पारे झैं हाम्रोमा नि विदेशी लठैतले भाषा, धर्म, रीतिरिवाज र संस्कृतिमा प्रहार गर्दो । राजनेता भएका भए थेग्ने थिए होलान् । यहाँ त नेता रोदन गर्दो । उपायनास्ति भएसि कसको के लाग्छ र ? कुरा गऱ्यो कुराकै दु:ख । बाउसे सकियो । आजलाई मैजारो । अस्तु !
प्रतिक्रिया