काङ्ग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरू लथालिङ्ग

काङ्ग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरू लथालिङ्ग


नेपाली काङ्ग्रेस पार्टी सरकारमा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि नेपाली काङग्रेसले चलाएको छ, तर नेपाली काङ्ग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरू लथालिङ्ग अवस्थामा रहेका छन् तर कसैलाई मतलब छैन । नेपाल प्रजातन्त्रवादी चिकित्सक संघको गतिविधि पनि शुन्य छ । डा. अनिल कार्की नेपाल चिकित्सक संघको अध्यक्ष भएपश्चात प्रजातन्त्रवादी चिकित्सक संघको गतिविधि शुन्य रहेको छ ।

नेपाली काङ्ग्रेसले स्वास्थ्य विभाग पनि गठन गरेको छ तर विभागको गतिविधि शुन्य रहेको छ । अन्य विभागहरूको गतिविधि चलायमान छ, केवल स्वास्थ्य विभागको क्रियाकलाप शुन्यप्रायः छ । स्वास्थ्य विभागको संयोजकमा प्रथम राष्ट्रपति पुत्र डा. चन्द्रमोहन यादवलाई बनाए पनि उहाँबाट कुनै गतिविधि हुन सकेका छैनन् ।

नेपाल स्वास्थ्यकर्मी संघमा लामो समयदेखि विवाद रहँदै आएको छ । निजामती सेवा ऐनअनुसार श्रम तथा रोजगार विभागमा दर्ता भएको नेपाल स्वास्थ्यकर्मी संघको नवीकरण खारेज रामजी घिमिरे (अध्यक्ष) र दीपकराज भट्ट (महासचिव)द्वयले गरे । हाल रामजी घिमिरे सरकारी सेवाबाट निवृत्त भएका छन् भने महासचिव भट्ट असाधारण बिदा लिएर प्रोजेक्टमा काम गरिरहेका छन् । नेपाल स्वास्थ्यकर्मी संघको कानूनी हैसियत सकिएको छ ।

रामजी घिमिरे नेकपा एमालेको जिफन्टसँग मिलेर महिला स्वास्थ्य स्वयम्सेविकाहरूको संगठन बनाएर पब्लिक सर्भिस इन्टर्नेशनल बाट अनुदान लिइ डलरखेति गरिरहेका छन् । प्रधानमन्त्रीका सल्लाहकार बिष्णु रिमालले जिपन्टमार्फत समाजमा निःशुल्क सेवा दिने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई ट्रेड यूनियनमा आवद्व गराएर अन्तर्राष्ट्रिय फन्ड डलरखेतिको काम गरेका छन् । यता रामजी घिमिरेले नेपाली काङ्ग्रेसको तर्फबाट महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई डलरखेतिमा भुलाउने काम गरेका निकटवर्तीहरू बताउँछन् । नेपाल नर्सिङ यूनियनको निर्वाचन नभएको धेरै भयो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप युवा नेता भएतापनि मन्त्रालयमा स्वास्थ्य क्षेत्रका भातृ संस्थाहरूले अवसर पाएका छैनन् । नेविसंघ राजनीतिबाट आएको हुँदा मन्त्रालयमा नेविसंघ तरुणदलको भिड बढि देखिन्छ । बामपन्थीहरुलाई मिलाएर मन्त्रालय चलाउने रणनीति देखिन्छ ।

मन्त्रालयमा कर्मचारी प्रशासन महाशाखामा ऋषिराज आचार्य वामपन्थी पृष्ठभूमिका सहसचिवलाई विश्वास गरेको अवस्था थियो भने हाल आएका हेमराज सुवेदी पनि बामपन्थी लाइनकै हुन् भनिन्छ । स्वास्थ्य सेवा विभागमा महानिर्देशक वामपन्थी रहेका छन् । प्रधानमन्त्री, अर्थमन्त्रीले सहयोग नगर्दा मन्त्रीले सार्वजनिक घोषणा गरेका कार्यक्रम पनि कार्यान्वयन गर्न सकेका छैनन् । जनशक्ति थप्ने तथा विमाको रकम बढाउने विषय अहिले अलपत्र परेको छ । नेपाली काङ्ग्रेस पार्टी स्वास्थ्यतर्फका शुभेच्छुक संस्थाहरु मन्त्रालयबीच पनि समन्वय हुन नसकेको सम्बद्ध क्षेत्रमा चर्चा छ ।