श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे अस्वस्थ भएका कारण मङ्गलबार अदालतमा उपस्थित हुनसक्ने अवस्था नरहेको डेली मिररले अस्पताल स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।
डेली मिररका अनुसार उनलाई अगस्ट २६ (मङ्गलबार)मा कोलम्बो फोर्ट मजिस्ट्रेटसमक्ष उपस्थित गराउने तय गरिएको थियो । तर, अस्पताल अधिकारीहरूले उनको स्वास्थ्य अवस्था अदालतमा जान असम्भव रहेको बताएका छन् ।
कोलम्बो राष्ट्रिय अस्पताल (सिएनएच)का एक वरिष्ठ अधिकारीका अनुसार, विक्रमासिङ्घेलाई औषधि सेवन र कम्तीमा तीन दिन आराम गर्न सल्लाह दिइएको छ । अघिल्लो दिन उनी डिहाइड्रेटेड भएको रिपोर्ट भएको थियो, जसले मुटुको दर बढाएको थियो । चिकित्सा परीक्षणमा टाउको दुख्ने लक्षणसँगै उच्च मिर्गौला मापदण्ड पनि पाइएको थियो ।
अधिकारीले भने, ‘हाल लक्षणहरू गम्भीर छैनन्, तर जटिलता उत्पन्न भएमा अवस्था गम्भीर हुनसक्छ । उचित उपचार भएमा उहाँ निको हुन सक्नुहुन्छ तर तीन दिनसम्म आराम र औषधि आवश्यक छ ।’
सावधानीका लागि चिकित्सकहरूले उनलाई इन्टेन्सिभ केयर युनिट (आइसियु)मा स्थानान्तरण गर्ने निर्णय गरेका छन् ।
कोलम्बो फोर्ट मजिस्ट्रेट निलुपुली लङ्कापुराले उनलाई अगस्ट २६ सम्म हिरासतमा राख्ने आदेश दिएका थिए । सुरुमा उनलाई जेल अस्पतालमा भर्ना गरिएको थियो, तर मेडिकल मूल्याङ्कनले त्यहाँ आवश्यक विशेषज्ञ उपचार उपलब्ध नभएको देखाएपछि कोलम्बो राष्ट्रिय अस्पतालमा सारिएको थियो ।
न्युजवायर लङ्काका अनुसार, राज्य कोष दुरुपयोग गरेको आरोपमा उनलाई शुक्रबार पक्राउ गरिएको थियो । उनमाथि लन्डनको निजी भ्रमणको खर्च सरकारी कोषबाट भुक्तानी गरेको आरोप छ । उक्त निजी भ्रमणका क्रममा उनले लन्डनमा विश्वविद्यालयको स्नातक समारोहमा भाग लिएका थिए ।
अनुसन्धानकर्ताहरूले यो भ्रमण आधिकारिक नभए पनि सरकारी खर्चमा भएको दाबी गरेका छन् ।
६ पटक प्रधानमन्त्री बन्नुभएका रनिल विक्रमसिङ्घेले सन् २०२२ जुलाईमा गोटाबाया राजापाक्षलाई विरोध प्रदर्शनले हटाएपछि श्रीलङ्काको अन्तरिम राष्ट्रपति बनेका थिए ।
उनी सन् २०२४ सेप्टेम्बरमा राष्ट्रिय जनशक्तिका नेता अनुरा कुमारा दिसानायकेसँग राष्ट्रपति चुनावमा पराजित भएका थिए ।
प्रतिक्रिया