‘चीन-रुस सम्बन्ध अशान्त विश्वमा सबैभन्दा स्थिर’ : राष्ट्रपति सी

‘चीन-रुस सम्बन्ध अशान्त विश्वमा सबैभन्दा स्थिर’ : राष्ट्रपति सी


राष्ट्रपति सी जिनपिङले चीन-रुस सम्बन्धलाई प्रमुख विश्व शक्तिहरूमध्ये ‘सबैभन्दा स्थिर, परिपक्व र रणनीतिक रूपमा महत्त्वपूर्ण’ भन्दै प्रशंसा गरेका छन् ।

रुसको ड्युमा (संसद्को तल्लो सदन)का अध्यक्ष भाचेस्लाभ भोलोडिनसँगको भेटमा उहाँले चीन-रुस सम्बन्धलाई ‘विश्व शान्तिको स्थिर स्रोत’को रूपमा वर्णन गर्नुभएको चिनियाँ राज्य सञ्चारमाध्यम सिसिटिभीले जनाएको छ ।

‘दुवै पक्षले… दुवै देशको सुरक्षा र विकास हितको रक्षा गर्न, ग्लोबल साउथलाई एकताबद्ध गर्न, साँचो बहुपक्षवादलाई कायम राख्न र अन्तर्राष्ट्रिय व्यवस्थामा निष्पक्षता तथा न्याय प्रवर्द्धन गर्न मिलेर काम गर्नुपर्छ’, सीले बेइजिङको भव्य ग्रेट हल अफ द पिपुलमा आयोजित भेटमा भनेका छन् ।

सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि बेइजिङ र मस्कोबीचको सम्बन्ध अझ गहिरो बन्दै गएको छ ।

चीनले युद्धको निन्दा नगरेको र मस्कोलाई सेना फिर्ता लिन पनि आह्वान नगरेको स्पष्ट छ । युक्रेनका सहयोगी राष्ट्रहरूलाई चीनले आफ्नो विशाल उत्तरी छिमेकीलाई समर्थन गरिरहेको विश्वास छ । तर चीनले भने आफू तटस्थ रहेको दाबी गर्दै आएको छ र युद्ध अन्त्यका लागि नियमित आह्वान गर्दै पश्चिमी मुलुकहरूले युक्रेनलाई हतियार आपूर्ति गरेर द्वन्द्व लम्ब्याएको आरोप लगाइरहेको छ ।

यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै सप्ताहन्तमा चीन भ्रमण गर्ने तय भएको छ । पुटिन अगस्ट ३१ देखि सेप्टेम्बर १ सम्म उत्तरी शहर तियानजिनमा हुने साङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनमा सहभागी हुनेछन् । साथै दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सव कार्यक्रममा पनि उपस्थित हुनेछन् ।

पुटिनले यस अवसरमा राष्ट्रपति सीसँग पनि वार्ता गर्नेछन् । दुई नेताबीच पहिले नै गहिरो व्यक्तिगत सम्बन्ध रहेको बताइन्छ ।

यसै महिना सीले फोनमार्फत पुटिनलाई मस्को-वासिङ्टन सम्बन्धमा देखिएको सुधारप्रति चीन खुसी भएको बताएका थिए ।

पुटिनले यसै महिना अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले उच्चस्तरीय वार्ता गरेका थिए । तर त्यसपछिका दिनमा शान्तिवार्तामा खास प्रगति भएको देखिएको छैन ।