संवैधानिक र कानुनी त्रुटी नभएको यातायात व्यवस्था विभागको जिकिर : ‘इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा तत्काल कुनै कारवाही नहुने’
यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग गैरकानुनी नभएको जिकिर गरेको छ । नम्बर प्लेटमा नेपाली भाषाको प्रयोग हुनुपर्ने माग चौतर्फी उठिरहेको सन्दर्भमा विभागले प्रेस विज्ञप्ति जारी गर्दै ‘इम्बोस्ड नम्बर प्लेटमा सर्वोच्च अदालतको संवैधानिक इजलासबाट सम्झौतामा उल्लेख भएबमोजिम अंग्रेजी लिपी प्रयोगमा कुनै संवैधानिक र कानुनी त्रुटी नदेखिएको भनी फैसला भएको’ जिकिर गरेको छ ।
विभागद्वारा जारी विज्ञप्तिमा इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा जरिवाना वा कारवाहीमा परिने भनी गरिएको प्रचार पनि सत्य नभएको जनाइएको छ ।
विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सवारीधनी कारवाहीमा पर्ने तथा जेल जानुपर्ने भनी भएको प्रचारमा सत्यता नभएको विभागले जनाएको हो ।
विभागले तत्काललाई कुनै पनि प्रकारको दण्ड जरिवाना नगरिने र आफूअनुकूल सवारी दर्ता गरेको यातायात कार्यालयमा गई स्वःस्फूर्त ढङ्गले इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटाइजेन कार्यमा सहयोग गर्न अनुरोध गरेको छ ।
विभाग एवम् प्रदेश कार्यालयबाट जडान सहजताका लागि उक्त स्थानमा पूर्वाधार र जनशक्तिको व्यवस्था गरिएको र सेवाग्राही तथा सवारीसाधनको सहजताका लागि आवश्यकताअनुसार थप प्रबन्ध गरिएको जानकारी दिएको छ ।
प्रतिक्रिया