मानव तस्करीको समेत आरोप लागेकी उपसभामुख इन्दिरा राना मगरको पद थप दुई महिना जोगिने भएको छ । उनमाथि पदको दुरुपयोग गरि भिजिट भिसामा अमेरिका जान लागेका केही ब्यक्तिहरूको अन्तर्वार्ता मिति अगाडि सार्न अमेरिकी दुतावासलाई पत्र लेखेको आरोप लागेको छ ।
रानालाई पदमूक्त गर्न केही महिनाअघि प्रयास भएको थियो । तर, काङ्ग्रेसको शेखर कोइराला समर्थकहरूले महाभियोगमा सहयोग नगर्ने र दुई तिहाई बहुमत नपुग्ने भएपछि त्यसबेला स्थगित भएको थियो । अहिले दुई तिहाई बहुमत पुग्ने निश्चिततासहित रानाविरूद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने तयारी भएर पनि एकपटक फेरि रोकिएको छ ।
खाली कागजमा काङ्ग्रेस र एमालेका सांसदहरूले हस्ताक्षर गर्ने/गराउने कार्य सम्पन्न भएको भएपनि शेखर कोइरालाले सहयोग नगर्ने जानकारी देउवालाई गराएको समाचार सार्वजनिक भएको थियो । तर, यो पटक रोकिएको शेखरका कारणले नभएर उपनिर्वाचनमा अल्झिनुपर्ने भएकोले भन्ने बताइएको छ । प्राप्त जानकारीअनुसार काङ्ग्रेस एमालेले कुल १८५ सांसद सङ्ख्या पुर्याएका छन्, जबकि १८४ भए दुई तिहाई बहुमतको सङ्ख्या पुग्दछ । उनीहरूले कुल १९० सांसद सङ्ख्या पुर्याएर आगामी कार्तिकमा रानाविरूद्ध महाभियोग प्रस्ताव दर्ता गरि पारित गराउने भएका छन् ।
इन्दिराको स्थानमा उपसभामुख चयन गरिने ब्यक्तिसमेत निर्धारण भैसकेको बुझिएको छ । नेपाली काङ्ग्रेसकी सांसद चन्दा चौधरीलाई उक्त जिम्मेवारी दिन काङ्ग्रेस र एमालेका नेताहरू सहमत भएका छन् । सर्लाहीकी चन्दा चौधरी तराईमा लोकप्रिय मानिन्छिन् र अहिले समानुपातिक सांसद छिन् ।
राजकाजमा सबैभन्दा महत्वपूर्ण मानिने निकाय संवैधानिक परिषदमा पाँच जना राजनीतिक ब्यक्ति सदस्य रहने प्रावधान छ । एउटा प्रधानन्यायाधीश बाहेक सबै सदस्यहरू राजनीतिक पृष्ठभूमिका हुन्छन् । प्रधानमन्त्री, संसदका प्रमुख विपक्षी नेता, सभामुख, उपसभामुख र राष्ट्रिय सभाका अध्यक्ष संवैधानिक परिषदमा रहने वैधानिक ब्यवस्था छ । हाल परिषदमा सबै सदस्यहरू कम्युनिष्ट वामपन्थीहरू मात्र छन् । प्रधानमन्त्री र सभामुख एमाले, विपक्षी नेता र राष्ट्रियसभा अध्यक्ष माओवादी छन् । उपसभामुख पनि अर्कै बाम चरित्रको दलसङ्ग सम्बन्धित छिन् । संसदको सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसबाट संवैधानिक परिषदमा एकजनाको पनि प्रतिनिधित्व हुन सकेको छैन ।
मानव तस्करीमा इन्दिराको नाम जोडिएपछि काङ्ग्रेस र एमालेले उपसभामुख बदल्ने र उक्त स्थान काङ्ग्रेसले लिनेमा सहमत भएका छन् । अन्य कुनै कारणले नरोकिएमा उपनिर्वाचनलगत्तै महाभियोग प्रस्ताव ल्याएर इन्दिरालाई पदमूक्त गरिनेछ। शेखर कोइरालाबाट अड्चन हुने स्थिति भएछ भनेपनि त्यसको उपाय देउवा र ओलीले खोजिसकेको बताइन्छ ।
प्रतिक्रिया