उखु उत्पादनमा निर्भर किसान वर्गले आफ्नो पसिनाको मूल्य, अधिकार र सम्मानका लागि काठमाडौंको माइतीघर मण्डलामा अनशन बस्न बाध्य हुनुपरेको विषयप्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बक्यौता रकम नपाएर पीडित किसानहरुलाई सरकारले अझ अपमानित गर्ने गरी हालै उखुको समर्थन मूल्य घटाउने निर्णय गर्नु किसानविरोधी र गैरजिम्मेवार कदम भएको सो पार्टीको ठहर छ ।
माओवादी केन्द्रका उपाध्यक्ष एवम् पार्टी प्रवक्ता अग्नि प्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘हाम्रो पार्टी नेतृत्वको सरकारले किसानको हितलाई केन्द्रमा राख्दै उखुको समर्थन मूल्यमा प्रति क्विन्टल ७० रुपैयाँ अनुदान तोकेर उनीहरुलाई न्याय दिने विषय प्राथमिकतामा राखेको स्मरणीय छ । तर वर्तमान सरकारले किसानको हित प्रतिकूल हुने गरी उक्त अनुदान मूल्य घटाएर रु। ३५ बनाएको छ । जसले उत्पादन लागतसमेत धान्न नसक्ने अवस्था सिर्जना गरेको छ । यो निर्णयले बक्यौता रकम नपाएर पहिल्यैदेखि संकटमा परेका किसानमाथि थप अन्याय थपेको छ ।’
‘हाम्रो पार्टी आन्दोलनरत किसानको जायज मागप्रति समर्थन जनाउँदै तत्काल उखु किसानले पाउनुपर्ने सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गर्दछौं । साथै किसान वर्ग हाम्रो उत्पादन प्रणालीको मेरुदण्ड मात्र नभइ राष्ट्रको अर्थतन्त्रको आधारशीला हुन् भन्ने यथार्थलाई सरकारले बेलैमा आत्मसात गरी उखुको समर्थन मूल्य र त्यसमा दिइने अनुदानलाई किसानमैत्री ढंगले पुनः निर्धारण गर्न र किसानले उठाएका सबै जायज मागहरुलाई गम्भीरतापूर्वक सम्बोधन गर्न समेत माग गर्दछौँ ।’
‘उत्पादन र उत्पादकत्वको वृद्धिमार्फत रोजगारी र समृद्धि हासिल गर्दै मुलुकमा आत्मनिर्भर अर्थतन्त्रका लागि किसानहरु मुख्य शक्ति हुन् । उनीहरुको मनोबल उच्च राख्दै व्यवसायिक प्रवर्द्धनका लागि अनुकुल वातावरण बनाउनु अहिलेको आवश्यकता हो । सरकारले विचौलियाको स्वार्थका लागि सिंगो सत्ता संरचना प्रयोग गर्ने तर किसानहरुका माग वेवास्ता गर्ने प्रवृति गम्भीर छ । यदि सरकारले किसानहरुका माग बेवास्ता गरेमा हाम्रो पार्टी किसानसँगै उभिएर संघर्षलाई अझ व्यापक एवं सशक्त बनाउदै किसानको अधिकार, सम्मान र न्यायका लागि दृढतापूर्वक उभिने स्पष्ट पार्न चाहन्छौं ।’
प्रतिक्रिया