मानव बेचबिखन मुद्दामा रेड नोटिस जारी भएका ब्यक्ति कुवेतबाट पक्राउ

मानव बेचबिखन मुद्दामा रेड नोटिस जारी भएका ब्यक्ति कुवेतबाट पक्राउ


मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार प्रतिवादी कुवेतबाट पक्राउ परेका छन् ।

सुर्खेतको भेरीगङ्गा नगरपालिका-२ सप्तरी समझीङ्गाका ३९ वर्षीय कृष्ण सुनारलाई पक्राउ गरिएको सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मोहनजङ्ग थापाले जानकारी दिएका छन् ।

प्रवक्ता थापाका अनुसार फरार प्रतिवादी सुनारले २०७२ साल असार २७ गते पीडित परिवर्तित नाम ‘६४ वीरेन्द्रनगर क ८’लाई विवाह गर्छु भनी विभिन्न किसिमको प्रलोभनमा पारी भारतको हिमाञ्चल प्रदेशको सिम्लामा लगी बेचबिखन गरेको भनी पीडितले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दिएकी थिइन् । सुर्खेत प्रहरीमा जाहेरी दर्ता भएपश्चात प्रतिवादी सुनार फरार भएपछि उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई अन्तरराष्ट्रियस्तरमा खोजतलासका लागि इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो ।

सुनारलाई एनसिबी नेपाल र एनसिबी कुवेतको समन्वयमा कुवेतबाट पक्राउ गरी नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग (इन्टरपोल महाशाखा) काठमाडौंमार्फत बिहीबार (१२ भदौ) सुर्खेत प्रहरी कार्यालयमा ल्याएर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ ।