कायेन वाचा

कायेन वाचा


श्री गणेशाय नमः । श्री सरस्वतै नमोनम: । दुराग्रही/पूर्वाग्रहीको कुरो छोड्नुस् – यी त चन्द्रमामा दाग खोजेर काल डाक्छन् । सरकार त जनताको अभिभावक हो किन्तु हाम्रोमा त कहिले के नाउँमा त कहिले के नाउँमा सकस दिंदो, निहुँ खोज्दो । ठुलोबडो संविधान मिच्दो अनि यति दिन भित्रमा यो काम गरिनस् भने कार्वाही गर्छु भन्दै ऐलान फरमाउँदो । जनतालाई ऐन नेतालाई चैन । कानुनी राज्यको उपहास । भन्न त वैचारिक स्वतन्त्रता भन्छ तर व्यवहारमा छैन । स्वतन्त्रता मरु कसो गरूँ !

एकै प्रकरणमा आफ्नो मान्छे फुक्काफाल पराई मान्छे झ्यालखानामा हाल । २०४६ सालताका ठिटाठिटीहरू ‘बहुदल आयो’ भन्दै बुरुक्क-बुरुक्क उफ्रेका पाफ्रेका थिए । प्रत्युत्तरमा एक जना वृध्दले भने- ‘यसरी बुरुक्क-बुरुक्क उफ्रिनु पाफ्रिनु पर्दैन, नेताले के गर्छ पछि थाहा पाऔला । यो बहुदल हैन बहुलाहा व्यवस्था हो । हाम्ले त पन्ध्र सालमै भोगिसकेको । आफ्नोलाई काखा अर्कोलाई पाखा गर्ने परिपाटी । ‘चोरी-चकारी नगरी चतुऱ्याइँ हुन्न, दंगा फसाद नगरे इज्जतै रहन्न, सोझा र सज्जन कबै नलिनु दलैमा, पार्टी चलाउनु सधैं छल औ बलैमा’ – भैरव अर्यालले भनेको झलझली सम्झें ।

कात्रोमा गोजी हुन्न भन्ने थाहा हुन्न कि क्या हो उपरनेतालाई । भ्रष्टाचार गरेको गऱ्यै । कोही-कोहीले त बुढोपयो लागेसि प्रायश्चितार्थ जनै चुँडाएर जोगी बनेको देखियो । यो सबै आफ-आफ्नो कर्मको फल हो । कलि आजको भोलि । सोझाको साथ भगवान् । उनै हर्ता उनै कर्ता उनै भर्ता उनैले गर्छन् नियानिसाफ ।

सबैलाई मुछेर एउटै डालोमा हाल्नुहुन्न । हाम्रा कोही कोही मुलुकवासीलाई अर्काको देखासिकी नगरी नहुने । अर्कोले घोडा चढ्यो भनेर धुरी चढ्ने प्रवृत्ति । रिन गरेर नि बंगला ठड्याउनुपर्ने, गाडी चढ्नुपर्ने र गरगहना पहिरिनुपर्ने । घाँटी हेरी भात निल्नु नि । साहू राहु बनेसि सियो समेत जफत गर्दो । अनि भएन हरिबिजोग !? भाङ्तो भाङ्तो काम गर्दो । छिमेकीले छोराछोरी विदेश पठायो भन्ने डाढोले आफ्नो चिचिला बाबुनानीहरूलाई बलजफ्ती परदेश पठाउने अनि बिरामी हुँदा पानी दिने मान्छे नि भएन भनेर गथासो पोख्दैमा के हुने हो र ? कुमेकी खुच्चिङ मार्दो । अर्काको लहैलहैमा लाग्नु हुन्न है ।

आयात कम निर्यात बढी भए पो मुलुक उँभो लाग्छ । यहाँ त कमिसनको लोभले प्याज, लसुन, दुधसमेत आयात गर्दो । विदेशी सहयोग उपरनेताको पोल्टामा, रिन जति जनताको थाप्लोमा । भगवान श्रीकृष्णको गीतामृत ‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् । परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् । धर्मसंस्थापनार्थय सम्भावामि युगे युगे ।’ हे ! भगवान ! जगत कल्याणार्थ फेरि औतार लिएर पापीजनलाई नाश गरी पूण्यजनको उद्धार गर्नुहोस् ।

कस्तो बिप्लेटो नाउँ ? गरीब – धनबहादुर ! कञ्जुस – दानबहादुर ! कुरुपता – सुन्दरी ! नकुली – सावित्री । लखनेहरू झुटो आश्वासन दिएर टमार्दो । यिनका कुरा पत्याउनु पर्दैन है ।

सायद इतिहास थियो होला काङ्ग्रेसको । अहिले त पत्रु भो ! विचार, सिद्धान्त केही छैन । हावा तालमा बहकिन्छ, हिन्दुत्व नकार्छ । यो नाउँ त कोही सुन्न चाहन्न – घिचमारा बाहेक । सत्य बोल्दा छुच्चिनु पर्ने । भर्सेलै परोस् । संसदीयता देखाउने दाँत मात्र । सभ्य संसदको कुरो बेग्लै , सांसदहरू एकसेएक घाघडान विद्वान; तौलेर बोल्ने । हाम्रोमा त लिखितम् कनिकनि बकितम्  । कस्तो हनबेर्नु ?! यस्ताले मुलुकको के विकास गर्ने ? समावेशिता ओजरहित । भागबण्डाको राजनीतिमा के के विकृतिहरू भित्रिए भित्रिए; कुरा गरि के साध्य ?

विकासेले पर्यावरण ध्वस्त्याउँदो, हावापानी फेराउँदो, धरायु अल्पायुँदो, श्रृष्टि मास्दो । अत्याधुनिक धुन्धुकारी । फाल्तु बातमा बहस, यसबारे कसले सोच्ने ? भाडमा जाओस् ।

चीन र भारतबिच वार्ता हुँदा सीमानाको कुरा उठ्छ । छिमेकी मुलुकहरूसित असमान सन्धिहरूको विषयमा बहस चलाएर कुटनीतिक ढंगले समस्या समाधान गर्न सकिन्छ । बलको तुजुक देखाएर केही हुन्न, बुद्धि पुऱ्याएर काम गर्नुपर्छ । प्राकृतिक न्याय सिद्धान्तबमोजिम नि प्रतिनिधिहरूले (गजराज मिश्र र चन्द्रशेखर उपाध्याय  नेपालको तर्फबाट र प्यारिस ब्राडशा इष्ट इण्डिया कम्पनीको तर्फबाट) हस्ताक्षर गरेनि राजाको (गीर्वाणयुद्ध) पञ्जा- छाप  सन्धिपत्रमा नछापेकोले सुगौली सन्धि पाको हुन सकेन । सरकारले दह्रो इच्छाशक्तिसहित अन्तर्राष्ट्रिय अदालत/निकायमा आवाज उठाउने हो भने हाम्रो एक तिहाई भू-भाग फिर्तिन सक्छ । नेपाल र नेपालीको जय होस् ।

बेलाइतको घटना । धेरै वर्ष अघि हत्याराहरूले राजा चार्ल्सलाई लखेट्दै थिए; दोबाटोमा अलमलिए । दोबाटोमा साथीहरूसित खेल्दै रहेको एक जना बाह्र वर्षको केटोलाई उनीहरूले सोधे- ‘राजा कुन बाटो गयो हँ ? उसलाई देख्यौ ?’ प्रत्युत्तरमा उसले निडरतापूर्वक भन्यो – ‘राजा जानु भएको मैले देख्या हूँ तर म बाटो देखाउन्नँ । म मैकफर्शन परिवारको सदस्य हूँ । हाम्रो परिवारमा शरणको मरण हुन्न ।’ उनीहरूले त्यो केटोलाई तरबार उज्ज्याएर डर देखाए; ऊ गल्दै गलेन । आखिरमा हत्याराहरूमध्ये (उच्च खान्दानको ) एक जनाले उसलाई तक्मा दियो । त्यो तक्मा अहिले नि मैकफर्शन परिवारसित सुरक्षित छ । लेखकलाई मखमली माला; पाठकलाई दुबोको माला । यसले सबैको भलै गर्ला । खाँच्चैसिति, सितिकसो भारी किन बोक्ने हो र ? छिरल्दिएसि टण्टैसाफ। बाउसे सकियो । आजलाई मैजारो । अस्तु