पूर्वी अफगानिस्तानमा भूकम्प, गाउँहरू ध्वस्त र कम्तीमा ६०० जनाको मृत्यु

पूर्वी अफगानिस्तानमा भूकम्प, गाउँहरू ध्वस्त र कम्तीमा ६०० जनाको मृत्यु


पाकिस्तानसँगको सीमानजिकै पूर्वी अफगानिस्तानमा आएको शक्तिशाली भूकम्पले धेरै गाउँहरू ध्वस्त पारेको छ र व्यापक क्षति पुर्‍याएको छ ।

यस विपत्तिमा कम्तीमा ६ सय जनाको ज्यान गएको र पाँच सयभन्दा बढी घाइते भएको सम्बद्ध अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् । खोजी तथा उद्धार टोलीहरू प्रभावित क्षेत्रमा पुगेपछि मृतक र घाइतेको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।

आइतबार राति आएको भूकम्पले छिमेकी नङ्गरहार प्रान्तको जलालाबाद नजिकैको कुनार प्रान्तका शहर र गाउँहरूमा प्रहार गरेको हो ।

अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस)का अनुसार ६.० म्याग्निच्युडको यो भूकम्प राति ११ः४७ बजे नङ्गरहार प्रान्तको जलालाबाद सहरको करिब २७ किलोमिटर (१७ माइल) पूर्व–उत्तरपूर्वमा केन्द्रित थियो । यसको गहिराइ केवल आठ किलोमिटर (५ माइल) मात्र भएकाले क्षति बढी भएको जनाइएको छ ।

कुनार विपद् व्यवस्थापन प्राधिकरणले नुर गुल, सोकी, वटपुर, मनोगी र चापडारे जिल्लामा मात्रै कम्तीमा दुई सय ५० जनाको मृत्यु र पाँच सय जनाभन्दा बढी घाइते भएको जनाएको छ ।

जनस्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानले धेरै गाउँ पूर्ण रूपमा ध्वस्त भएका र उद्धार कार्य जारी रहेको जनाएका छन् । कुनार, नङ्गरहार र राजधानी काबुलबाट मेडिकल टोलीहरू पठाइएका छन् । धेरै ठाउँबाट अहिलेसम्म हताहतको विस्तृत विवरण प्राप्त हुन नसकेको र सङ्ख्या अझै बढ्ने अनुमान गरिएको जनाइएको छ ।

छिमेकी पाकिस्तानसँगको निकटता र दुवै देशबीचको प्रमुख सीमा नाकाकै कारण जलालाबाद एक हलचलपूर्ण व्यापारिक शहर मानिन्छ ।

नगरपालिकाका अनुसार यसको जनसङ्ख्या करिब तीन लाख भए पनि महानगरीय क्षेत्र अझै ठूलो छ । यहाँका अधिकांश भवनहरू कमजोर संरचना भएका छन्, कङ्क्रिट र इँटाका घर प्रचुर मात्रामा छन् भने बाहिरी क्षेत्रमा माटोको इँटा र काठका घर रहेका छन् । तीमध्ये धेरै कमजोर संरचना भएकाले क्षति गम्भीर भएको बताइन्छ ।

जलालाबादमा काबुल नदी बग्छ र यहाँ साइट्रस फलफूल तथा धानसहित कृषि उत्पादन पनि प्रशस्त हुन्छ ।

यसअघि सन् २०२३ अक्टोबर ७ मा अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यतिबेला तालिबान सरकारले कम्तीमा चार हजारको मृत्यु भएको जनाएको थियो भने संयुक्त राष्ट्रसङ्घले करिब एक हजार पाँच सयको मृत्यु भएको अनुमान गरेको थियो । हालसालैको इतिहासमा त्यो अफगानिस्तानमा आएको सबैभन्दा घातक प्राकृतिक प्रकोप मानिएको छ ।