‘रेसमाण्डु’बाट खेल जीवन सुरु गरेका नेपालका भेट्रान राइडर विक्रम थापाले जापानको क्लब रेसिङमा महत्वपूर्ण जित हासिल गरेका छन् । टोकियोनजिक चिवास्थित सोडेगौरा फरेस्ट रेसवे सर्किटमा सम्पन्न मोटरसाइकल रेसिङमा उनले प्रथम उपाधि हात पारेका हुन् ।
लगभग एक दशकदेखि जापानमा आफ्नै व्यवसायमा संलग्न रहेका विक्रम त्यहीँको ट्रयाकमा आफूलाई स्थापित गर्दैछन् ।
यसैक्रममा हालै आयोजित २४०० मिटर लामो ट्रयाकमा ८ ल्याप पूरा गर्दै उनले बाइस प्रतिष्पर्धीलाई पछि पारेर उपाधि हासिल गरे । ३७३ सीसीसम्मको सिंगल सिलिन्डर अथवा २५० सीसीको ट्विन सिलिन्डर मोटरसाइकलको सो क्लब सिरिजको चौथो राउण्डमा फर्स्ट पोजिसन निकाल्न विक्रम सफल भएका हुन् ।

नेपाली मोटरसाइकल रेसिङका सुरुवाती समयका उम्दा राइडर विक्रम नेपालको प्रारम्भिक र लोकप्रिय रेसिङ ‘रेसमाण्डु’मार्फत नेपाली मोटरसाइकल रेसिङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने एक मुख्य पात्रका रूपमा परिचित छन् । नेपालका थुप्रै रेसिङ इभेन्टका पोडियम होल्डर विक्रमले एशिया कप अफ रोड रेसिङ, सुजुकी एसियन च्यालेन्ज जस्ता अन्तर्राष्ट्रिय रेसमा राम्रो पदर्शन गर्नुका साथै सन् २०१४ मा बेजिङमा भएको एफआईए योङ ड्राइभर्स एक्सिलेन्स एकेडेमी ट्रेनिङमा फर्मुला रेसिङ तयारीका लागि नेपालबाट छनौटसमेत भएका थिए ।
यसअघि सन् २०१८ मा जापानमै भएको टिके रेन्टल बाइक सिरिजको एक्सपर्ट क्लासको उपाधि पनि विक्रमले जितेका थिए । उनका प्रदर्शनलाई मध्यनजर गर्दै नेपाल अटोमोवाइल्स एसोसिएसनले गत वर्ष उनलाई च्याम्पियन्स अवार्डले सम्मान गरेको थियो ।
ज्ञातव्य छ, लाखौँ नेपाली कार्यरत रहेको जापानमा हाल दर्जनौँ मोटरस्पोट्र्सका पारखी सार्वजनिक भइरहेका छन् । यस अवस्थामा विक्रमकै सक्रियतामा ‘मोटो-जापनेपाल’ क्लब स्थापनाका लागि गत महिनादेखि नेपाल र जापानमा संस्थागत रुपमा उनले कार्ययोजना संचालनको तयारी गरेका छन् ।
यो पनि हेर्नुहोस्-
थाइल्याण्डमा भिड्दै नेपाली अन्तर्राष्ट्रिय बाइक रेसर « Nepali Digital Newspaper
प्रतिक्रिया