सुडानको पश्चिमी डार्फर क्षेत्रमा भएको ‘ठूलो’ भूस्खलनले सम्पूर्ण पहाडी गाउँलाई समतल बनाएको र कम्तीमा एक हजार मानिसको मृत्यु भएको यस क्षेत्रलाई नियन्त्रण गर्ने विद्रोही समूहले ढिलोगरी जानकारी दिएको छ ।
सुडान लिबरेसन मुभमेन्ट/आर्मी (एसएलएम)ले गत आइतबार मार्रा पहाडको तारासिन गाउँमा भारी वर्षापछि यो प्रकोप आएको बताउँदै ‘प्रारम्भिक जानकारीले सबै गाउँवासीको मृत्यु भएको सङ्केत गर्दछ, केवल एक जना बाँचेका छन्’ भनेको छ ।
साइट्रस उत्पादनका लागि परिचित क्षेत्रको भूस्खलनले गाउँ पूर्ण रूपमा नष्ट भएको र संयुक्त राष्ट्रसङ्घ तथा अन्य सहायता संस्थाहरूलाई मृतक उद्धारमा सहयोग गर्न अपिल गरिएको छ ।
सुडान सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीचको गृहयुद्धले देशलाई विश्वकै सबैभन्दा खराब मानवीय सङ्कटमा धकेलेको छ । एसएलएम प्रायः लडाइँबाट बाहिर रहन्छ तर डार्फरको केही पर्वत शृङ्खलामा यसको नियन्त्रण छ ।
डार्फरका सेना-गठबन्धन गभर्नर मिन्नी मिन्नावीले भूस्खलनलाई ‘क्षेत्रको सीमा नाघेको मानवीय त्रासदी’ भनेका छन् । उनले अन्तर्राष्ट्रिय मानवीय संस्थालाई तत्काल हस्तक्षेप गर्न अपिल गर्दै भनेका छन्, ‘यो त्रासदी हाम्रा जनताले एक्लै सहन सक्ने भन्दा ठूलो छ ।’
सन् २०२३ अप्रिलदेखि सुरु भएको सुडान सेना प्रमुख अब्देल फताह अल-बुरहान र आरएसएफ कमान्डर मोहम्मद हमदान डाग्लोबीचको शक्ति सङ्घर्षले देशको पूर्वाधार ध्वस्त पारेको छ । यस युद्धमा दशौँ हजारको ज्यान गएको र करिब ४० लाख मानिस विस्थापित भएका छन् ।
प्रतिक्रिया